सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सोमबारदेखि निषेधाज्ञा जारी हुने

२०७८ वैशाख १९, ११:३० खबर संवाददाता

बझाङ: बझाङमा कोरोनाको संक्रमण दर बढ्दै गएपछि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ।

शनिबारको जिल्ला कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी)को बैठकले एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद सुवेदीले बताए।

बैशाख २० गते त्रिहान १ बजेदेखि २६ गते राति १२ बजेसम्म पूण रुपमा जिल्लाभर निषेधाज्ञा गरिएको उनले बताए। 

उक्त अवधिमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु पाइने पसल बिहान ७ देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिने बताइएको छ।  यस्तै बैंक तथा वित्तीय संस्था हरेक दिन बिहान ७ देखि १० बजेसम्म खोल्न दिने डीसीसीएमसीले निर्णय गरेको छ। 

यसैगरी मालबाहक ट्रक, एम्बलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधन चलाउन नपाइने डीसीसीएमसीले निर्णय गरेको छ। विकास निर्माणका कार्यहरू स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्न दिने र समान ढुवानीका लागि र अत्यावश्यक कामका लागि सवारी पास अनिवार्य गरिएको छ।

बझाङमा शनिबार थप १६ जनामा कोरोना संक्रमण पुस्टि भएको थियो। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १६७ पुगेको छ। हालसम्म जिल्लामा २ जना संक्रमितको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस