सुदूर नेपाललाई विश्वसँग जोड्दै

एउटै खुट्टाले संसार जित्ने रसाइलीः अरुका लागि मास्क बनाउँथे, आफ्नै ज्यान कोरोनाले लियो

२०७८ वैशाख १८, ०५:५६ विन्दु चन्द

धनगढी: गत वर्ष कोरोना भाइरसको महामारीपछि सरकारले चैत ११ गतेदेखि देशव्यापारी रुपमा लकडाउन गरेको थियो।

सोही समयमा कैलालीका साइकल यात्री यमलाल रसाइली घरमै बसे। तर उनी खालि बस्न सकेनन्। 

परिवारसहित दिनरात नभनी उनी सबैका लागि मास्क बनाउन लागे।

तर सबैलाई कोरोनाबाट जोगाउन मास्क बनाउने उनको कोरोनाकै कारण ज्यान गएको छ।

सबैलाई कोरोनाबाट बचाउन अहम भूमिका खेल्ने र एक खुट्टाले साइकलबाटै संसारलाई जित्न हिम्मत गर्ने एक लडाकु ढलेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय रसाइलीको बैशाख १७ गते निधन भएको हो।

बैशाख १ गतेदेखि स्वास्थ्यमा समस्या आएर उनी ७ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।

तर संसारलाई आफ्नो प्रतिभाले जितेको उनी कोरोनासँग हारे।  

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनीमा निमोनिया देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उपचारका क्रममा उनको शुक्रबार बिहान साढे ४ बजेको समयमा निधन भएको अस्पतालले जनाएको छ। 

 ०००
यमलाल रसाइली एक दलित तथा गरिब परिवारमा जन्मेका हुन्। सानो छँदा उनको खुट्टामा चोट लागेको थियो।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि अन्ततः उनले आफ्नो एउटा खुट्टा नै गुमाउनु पर्‍याे।  

दलित र गरिब त्यसैमाथि अपागंता भएका उनलाई समाजले हेपाहा दृष्टिकोणले हेर्ने गथ्र्यो। तर उनी समाजमा आफु सफल व्यक्ति बनेर देखाउन चाहन्थे। सानोमा धेरै दुःख भोगेका उनले साहस जुराएर साइकल सिके।

एउटै खुट्टाले उनी साइकल चलाउन सिक्न थाले। केही समयमै उनी निक्कै चर्चामा आए।

उनले एउटै खुट्टाले साइकल चलाएर मेची–महाकाली यात्रा गरिसकेका छन्। यस्तै भारतका विभिन्न शहरहरुमा समेत उनले साइकल यात्रा गरेका थिए।  

एउटै खुट्टाको सहारामा मेची–महाकाली यात्रा, मुगुको रारा ताल, त्यस्तै भारतका विभिन्न ठाउँमा छोटा तथा लामो दुरीका प्रतिस्पर्धामा सफल भएको उनका सहकर्मी अर्का साइकल यात्री भरत बिक्रम शाहले बताए। 

रसाइली साइकल यात्रीका नामले प्रख्यात छन्। अपांगता भएका व्यक्ति भएर तथा दलित परिवारमा जन्मिएर पनि चर्चित हुन सक्छन् भन्ने उनी उदाहरण बन्न चाहन्थे र बने पनि। 

उनका १ छोरा र १ छोरी छन्। उनकी श्रीमती पनि अपांगता भएकी व्यक्ति हुन्। दुवै जनाले लम्कीमा टेलरिङ पेशा चलाएर गुजारा गर्दै आएका थिए। 

उनले आफ्नो छोरालाई पनि साइकल यात्री बनाउने उद्देश्यले साइकल सिकाउँदै थिए। तर विडम्बना रसाइलीको त्यो सपना चकनाचुर भयो। उनको निधनपछि परिवारको बिचल्ली भएको छ।  


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस