सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका नाकामा एन्टिजेन किटको चरम अभाव, भारतबाट भित्रिएका नेपाली सोझै गाउँमा

२०७८ वैशाख १८, ०२:२४ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशका सीमानाकाहरूमा भारतबाट फर्किने नेपालीहरूको संख्या झनझन बढिरहेका बेला कोरोना परीक्षणको लागि एन्टिजेन किटको चरम अभाव हुन थालेको छ।

पर्याप्त किट नहुँदा भारतका विभिन्न राज्यबाट फर्किएका नेपालीहरू सबैको परीक्षण हुन सकेको छैन भने, कोरोनाभाइरस सुदूरका गाउँगाउँ पुगेर स्थिति भयावह बन्ने चिन्ता बढेको छ।

सुरूवातदेखिनै नाकामा कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव भइरहँदा सीमानाकाहरूमा अझै सहज आपूर्ति हुन सकेको छैन।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाकाहरू कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका, बैतडीको झुलाघाट नाका र दार्चुलाको पुलघाट नाका गरी दैनिक २ हजारदेखि २५ सयको संख्यामा नेपालीहरू भित्रिरहेका छन्। तीमध्ये निकै थोरै संख्यामा मात्र परीक्षण हुने गरेको पाइएको हो।

कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव भएका कारण सत प्रतिशत परीक्षण हुन नसकेको हो। गड्डाचौकी नाकाबाट मात्र दैनिक ५ सयको हाराहारीमा नेपालीहरू भित्रिरहेका छन्। तीमध्ये १ सयभन्दा पनि कमको मात्र परीक्षण हुने गरेको छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कञ्चनपुरमा अहिले २ सय एन्टिजेन किट मात्र मौज्दात रहेको बताए।

गौरीफन्टा नाकाबाट दैनिक झण्डै १ हजार जना भित्रिने गरेका छन्। तीमध्ये १ सयदेखि डेढ सयको संख्यामा मात्र परीक्षण हुने गरेको छ। 

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले किट अभावका कारण आवश्यकताअनुसार परीक्षण हुन नसकेको बताए। 

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ। तर भारतबाट भित्रिने सबैको नाकामै परीक्षण हुन नसक्दा कोरोना संक्रमणको दरमा कमि नआउने देखिन्छ। सुरूवातदेखि नै किटको अभाव खेप्दै आएको सुदूरपश्चिममा अझै पर्याप्त किटको जोहो हुन सकेको छैन। 

तर स्वास्थ्य आपूर्ति केन्द्रले १५ सय किटको मौज्दात रहेको र २० हजार किट खरिदको प्रक्रिया थालिसकेको बताएको छ। 

स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम विष्टले २० हजार किट खरिदको लागि टेन्डर आह्वान गरेका बताए।

'२० हजार किट खरिदको लागि टेन्डर आह्वान गरेका छौँ।' उनले भने, 'विभागबाट पनि किट माग गरेका छौँ, दुई/चार दिन भित्रै किट आईपुग्छ।'

पछिल्लो एक सातामा गौरीफन्टा नाका भएर भारतका विभिन्न राज्यबाट झण्डै ८ हजार नेपाली भित्रिएका छन्। तीमध्ये निकै थोरैको मात्र परीक्षण हुने गरेको छ। उनीहरू सोझै गाउँ फर्किने गरेका छन्। यसरी कोरोना विकराल रूपमा फैलिने चिन्ता झनै बढेको छ।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस