सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड-१९ को महामारी: सुदूरपश्चिममा गम्भीर बिरामीले कसरी पाउलान् त शय्या

२०७८ वैशाख १३, ११:४० नारायण अवस्थी

धनगढी: सुदूरपश्चिममा कोभिड संक्रमण ह्वात्तै बढेका बेला प्रदेशका अस्पतालहरु संक्रमितले भरिन थालेका छन्। 

प्रदेशका सरकारी अस्पताल एकातर्फ जनशक्ति अभाव खेपिरहेका छन् भने अर्कोतर्फ कोभिडका बिरामीका लागि शय्या अभाव देखिएको छ। प्रदेशभर कोभिड संक्रमणको दर तीव्र भइरहेको बेला सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा बनाइएको कोभिड अस्थायी अस्पतालमा समेत शैय्या अभाव हुँदा थप बिरामी भर्ना गर्न समस्या हुने दखिएको छ। 

कोभिड १९ का कडा लक्षण सहितका बिरामी बढेसँगै यहाँका अस्पतालहरुमा संक्रमितले शय्या पाउन कठिन हुने भएको छ। प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा कोभिड १९ का विरामीका लागि ५५ शैय्याको व्यवस्था गरिएको छ। तर यो रिपोर्ट तयार गर्दासम्म सेतीमा ५४ जना भर्ना भएर उपचार गराइ रहेका छन्। अस्पतालमा थप एक जनाभन्दा बढी संक्रमित आए भर्ना नै गर्न नसकिने स्थिति आएको छ। 

“सेती प्रादेशिक अस्पतालमा सोमबारसम्म ५४ जना भर्ना भएर उपचार गरिरहेका छन्। अस्पतालमा कोभिडका बिरामीको लागि ५५ शैय्या मात्रै छन्। उपचार गराइ रहेका मध्ये ३ जना भेन्टिलेटर, ११ जना आईसीयू, २५ जना अक्सिजन सहायता र १५ जना अक्सिजन मोडरेटमा रहेका छन्।” सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिनेशखबरलाई भने। 

कञ्चनपुर जिल्लामा रहेको महाकाली अस्पतालमा पनि ५० शैय्याको कोरोना अस्पताल छ। महाकाली अस्पतालको कोभिड अस्पतालमा भने ४८ जना संक्रमित उपचार गराइ रहेको जनाइएको छ। महाकाली अस्पतालमा कार्यरत १७ जना स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन् भने सीमानाकाबाट दिनानुदिन संक्रमित आउने क्रम झनै बढेको छ। महाकाली अस्पतालमा जम्मा १ सय शैय्या मात्रै रहेका छन् । जनशक्ति र उपकरण अभाव खेपिरहेको महाकाली अस्पतालमा कोभिडका बिरामी बढ्दै गए उपचार गर्न चुनौति हुने भएको छ। 

“महाकाली अस्पतालमा ५० शय्याको कोरोना संक्रमितका लागि छन्। अहिले अस्पतालमा ४८ जना उपचार गराइ रहेका छन्। अस्पतालका प्रसुति बाहेकका सेवाहरु बन्द गरेर मात्रै थप संक्रमितलाई राख्न सकिने अवस्था छ। संक्रमित बढदै छन्। शय्याको संख्या बढाए पनि करिव ३० शैय्या मात्रै थप्न सम्भव हुने देखिन्छ।” महाकाली अस्पताला सूचना अधिकारी नारदप्रसाद भट्टले भने।

डडेल्धुरा अस्पताल केन्द्र सरकार मातहत सञ्चालित छ तर त्यो अस्पतालमा कोभिडका बिरामीको उपचार गर्न २१ ओटा शय्या मात्रै रहेको अस्पतालले जनाएको छ। “डडेल्धुरा अस्पतालमा १ सय शय्या छन्। अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।” मेडिकल सुपरिटेन्डेन्ट डक्टर जगदिश विष्टले भने। 

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका  १२ ओटा सरकारी अस्पतालमा जम्मा ९ सय २२ शय्या रहेको स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांक छ। प्रदेशभरका सरकारी अस्पतालमा कोभिडको विरामीको उपचारको लागि २ सय ५१ शय्या रहेको सरकारी दाबी छ। 

यो समाचार तयार पार्दासम्म  सुदूरपश्चिम प्रदेशमा ६सय १२ जना पीसीआर र १ हजार ८ सय ३ जना एन्टिजेनबाट परीक्षण गर्दा कोभिड संक्रमित रहेको तथ्यांक छ। जसमध्ये कोभिडका लागि ५५ शय्या रहेको सेती अस्पतालमा ५४ र ५० शय्या रहेको महाकाली अस्पतालमा ४८ जना कोभिड संक्रमित उपचार गराइ रहेका छन्। सेती र महाकाली अस्पतालमा थप संक्रमितलाई भर्ना गर्न कठिन हुने भएको छ।

प्रदेशभर कोरोनाका गम्भीर बिरामी अहिलेकै गतिमा शय्या अभावसँगै अक्सिजन र अन्य औषधिको समेत अभाव हुने भन्दै चिन्ता व्यक्त गरिएको छ। तर प्रदेशमा कोभिडसँग जुध्न चुस्त र प्रभावकारी काम गर्न तीनै तहका सरकार जुट्न नसकेको भन्दै सर्वसाधारणले गुनासो गर्न थालेका छन्।  

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस