सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन

सन्दर्भः १४ औँ लोकतन्त्र दिवस

२०७८ वैशाख ११, ०७:३७ नारायण अवस्थी

२०६२/०६३ मा भएको दोस्रो जनआन्दोलन भएको वैशाख ११ गते १४ वर्ष पुरा भएर १५ मा लागेको छ।

दोस्रो जनआन्दोलन भएको १४ वर्ष पुरा भएपनि लोकतान्त्रिक जनआन्दोलनताका दल तथा नेताहरुले नागरिक सामु गरेका वाचा पुरा नभएको धनगढीमा भेटिका सर्वसाधारणले बताएका छन्। 

मुलुकमा दोस्रो जनआन्दोलनमार्फत राजनीतिक व्यवस्था परिवर्तन भएपनि सर्वसाधारणको अवस्थामा भने कुनै परिवर्तन नभएको उनीहरुको गुनासो छ। देशभरका सामान्य नागरिकको सडक संघर्षबाट आएको लोकतन्त्रमा नेता तथा दल निकट केहि व्यक्तिले मात्रै फाइदा लिएको र सर्वसाधारणले भने परिवर्तनको अनुभूति नै गर्न नपाएको जनगुनासो बड्दो छ।

“२०६२/०६३ को १९ दिने दोस्रो जनआन्दोलनको बलमा २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र आयो तर लोकतन्त्र आएको १४ वर्ष पुरा भएपनि त्यो आन्दोलनलाई निष्कर्षमा पुगाउन मुलुकभरका भुइमान्छेहरुको योगदान नेता तथा दलहरुले विर्सन पुगे।” धनगढीमा भेटिएका गंगाबहादुर पछेराले भने।

तात्कालिन विद्रोही माओवादी र सरकारी पक्षको चेपुवामा परेर देशभर मान्छेहरु सडक आन्दोलनमा उत्रिएका थिए। लोकतन्त्र आएपछि कुरा र गफमा मात्रै देश अलमलिएको, सिमित व्यक्तिको मात्रै विकास भएको तर देशको अवस्था भने उस्तै रहेको बुझाइ  पछेराको छ।

“त्यो बेला मुलुकभर सर्वसाधारण सडकमा नआएकोभए दोस्रो जनआन्दोलन सफल हुने र लोकतन्त्रमा रमाउने अवस्था सायद अझै आउदैनथ्यो। लोकतन्त्रको नाममा पार्टी र नेताहरुले मोजमस्ती गर्दा सर्वसाधारणले भने आफ्नो अवस्थामा परिवर्तन महसुस गर्न पाएका छैनन्।” धनगढी ३ का स्थानीय लक्ष्मण भट्टराईले दिनेशखबरलाई भने।

लोकतन्त्र आएको १४ वर्ष पुरा भएपनि जनतालाई ठग्ने काम अझै कायमै रहेको सर्वसाधारणले बताएका छन्। “नेता र जनप्रतिनिधिका आफन्तले सुविधा पाए तर जनताका पिडा कम भएनन्। पसिना बगाउन विदेश जाँदा समेत ठगिनु परेको छ। राज्यले नै श्रमशोषण गर्ने गरेको गुनासो गोदावरी नगरपालिका ३ की स्थानीय लक्ष्मी भट्टले पोखिन।

लोकतन्त्र ल्याउने आन्दोलन र त्यसपछि भएका निर्वाचनमा पार्टी तथा नेताहरुले आफूहरुलाई ठूला–ठूला सपना र आश्वासन दिएको भएपनि मजदुरका समस्या समाधान हुन नसकेको भन्दै धनगढीका मजदुर जगबिर चौधरीले आक्रोश व्यक्त गरे।

दोस्रो जनआन्दोलन पछि लोकतन्त्र आयो तर देशमा शासन व्यवस्था परिवर्तन भएपनि देशवासीको अवस्थामा परिवर्तन नभएको गुनासो सर्वसाधारणले गरेका छन्। राज्यको स्रोत साधनमा पहुँचवालाको मनोमानी, कुशासन, भ्रष्टाचार, महंगी कालोबजारी नातावाद, कृपावाद र बेथिति मौलाउँदा जनताको लोकतन्त्रप्रतिको विश्वास उड्दै गएको पाइएको छ।।


 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस