दोस्रो लहरको कोरोना झनै खतरनाकः प्राध्यापक डक्टर कायस्थ
धनगढीः पहिलो लहरको कोरोना भाइरसभन्दा दोस्रो लहरको कोरोना निकै खतरनाक रहेको प्राध्यापक डक्टर शुभेषराज कायस्थले बताएका छन्।
दिनेशखबरको नागरिक सवालमा कुराकानी गर्दै डक्टर कायास्थले यो कुरा बताएका हुन्।
दोस्रो लहरमा कोरोनाका अनेक प्रकार देखा परिरहेका छन्। अहिले परीक्षण गर्दासमेत कोभिडको प्रकार पत्ता लगाउन नसकिने भएको छ। नयाँ प्रकारको कोभिडलाई मानिसको प्रतिरोध प्रणालीले समेत पहिचान गर्न सकिरहेको छैन। त्यसैले संक्रमणबाट बच्न सावधानी अपनाउनु पर्नेमा डक्टर कायस्थले जोड दिएका छन्।
पहिलो लहरको कोरोनाका लागि विकास गरिएको खोप नयाँ प्रकारको कोरोनाका लागि प्रभावकारी नदेखिदाँ झन जोखिम बढेकोले जनस्वास्थ्यका मापदण्डको पालना गर्न अनिवार्य भएको बताउँदै डक्टर कायस्थले सरकारी आदेश मान्नुपर्नेमा जोड दिएका छन्।
“हाम्रो जस्तो मुलुकमा नागरिकले राज्यबाट धेरै आशा नगरी आफैँ सतर्क हुनुपर्छ। अहिले कोरोना भाइरस नियन्त्रणका लागि सम्पर्क खोजी गर्ने कार्य पटक्कै भएको छैन। भारतबाट आएका नेपालीहरूलाई आइसोलेशनमा राखिएको छैन। सीमानाकामा जनशक्ति थप्ने, परीक्षणको दायरा बढाउने कुरामा प्रभावकारिता देखिदैँन। त्यसैले सबैले आफै सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ।” प्राध्यापक डक्टर कायस्थले भने।
“अहिले कोरोनाको तीव्र संक्रमणसँगै मृत्यु दरसमेत बढेको छ। कोरोनाको पहिचान गर्न नै समस्या भइरहेको छ। यो अवस्थामा कोभिड संक्रमण रोक्न जनचेतना फैलाउने, स्वास्थ्य मापदण्डको पालना गराउने, सम्पर्क खोजी गर्ने, संक्रमितहरूलाई अलग्गै राख्ने र अक्सिजनको तयारी गर्ने कार्य गर्न सरकारले चुक्नु हुँदैन, अन्यथा हाम्रो अवस्था पनि भारतको जस्तै हुने निश्चित छ।” उनले जोड दिँदै भने।
कोरोनाको दोस्रो लहरलाई ख्यालख्यालमा लिनु ठूलो भूल हुने प्राध्यापक डक्टर कायस्थको तर्क छ।