सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना कहरले बर्षे सिजनमा रासायनिक मलकाे अभाव हुनसक्ने भन्दै किसान चिन्तत

२०७८ वैशाख १०, ०६:५० नारायण अवस्थी

धनगढी: कोरोना कहरकाबीच यो वर्ष धान रोपाइँको बेला रासायनिक मल अभाव हुनसक्ने भन्दै कैलालीका किसानले चिन्ता व्यक्त गरेका छन्।

तर कृषि अधिकारीहरूले भने यो वर्ष धान खेती गर्न मल अभाव नहुने दाबी गरेका छन्। हरेक वर्ष खेतीपातीको समयमा मल नपाउने समस्या किसानले भोग्दै आएपनि यो वर्ष भने मलको अभाव नहुने आश्वासन अधिकारीहरूले दिएका छन्। तर बैलालीका किसानहरूले भने अहिले नै युरिया मल पाउन मुस्किल भइरहेको गुनासो छन्।

“सुदूरपश्चिमको सबैभन्दा धेरै धान उत्पादन हुने कैलाली जिल्लामा ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। ७० हजार हेक्टर क्षेत्रफलका लागि औसतमा पाँच हजार मेट्रिक टन युरिया, ३ हजार मेट्रिक टन डीएपी र दुई हजार मेट्रिक टन पोटास औसतमा आवश्य हुन्छ।” कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले भने।

कैलालीमा साल्ट टड्रिेङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडले कृषि मल आपूर्ति गर्ने गरेका छन्। तर कृषि सामग्री कम्पनी धनगढीको कार्यालय परिसरमा भेटिएका धनगढी ७ मा अवस्थित दाइजो कृषि सहकारीका प्रतिनिधि वासुदेव रानाले भने आफूले अहिले युरिया मल नपाएको गुनासो गरे।

रानाले भने, “अहिले गोदाममा युरिया सकिएको रहेछ। हुन त अहिले धानको बेर्नामा युरिया प्रयोग हुँदैन। अहिले डीएपीको प्रयोग बढी गरिन्छ। केही दिनपछि आउँछ भनेका छन्।”
कृषि सामग्री कम्पनी धनगढीले भने सहकारी मार्फत जिल्लाका सबै स्थानीय तहमा रासायनिक मल वितरणको व्यवस्था मिलाइएको जनाएको छ।

“कैलालीमा बिहिबारसम्म ५८ मेट्रिक टन युरिया वितरण भएको र थप ८ हजार २ सय मेट्रिक टन रासायनिक मल माग गरिएको बताइएको छ। त्यो प्राप्त हुनासाथ धान खेतीका लागि रासायनिक मल पर्याप्त हुने दाबी गरिएको छ। त्यसका अतिरिक्त कैलालीका लागि थप ४ हजार ३ सय मेट्रिक टन डीएपी समेत माग गरिएको छ।” कृषि सामग्री कम्पनी धनगढीका निमित्त प्रमुख नवलसिंह बोकटीले भने।

धनगढीको साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको आपूर्ति गर्दै आएका छन्। साल्ट ट्रेडिङमा ५ सय मेट्रिक टन युरिया सोही परिमाणमा डीएपी र सय मेट्रिक टन पोटास रहेको र धमाधम वितरण भइरहेको बताइएको छ।

अधिकारीहरूले किसानले धान खेतीका लागि मल नपाएर यो वर्ष हैरानी भोग्नु नपर्ने भन्दै आस्वस्त पार्ने प्रयास गरिरहका छन्। तर केही किसानले भने आफूहरू मल नपाएर रित्तै हात फर्किनु परेको गुनासो गर्न थालेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस