विषुपछि सुदूर पहाडका भारतीय सीमा नाकामा भिडभाड कम तर कोरोनाको जोखिम कायमै
धनगढी: विषु पर्वपछि भारतसँग जोडिएका पहाडी जिल्लाका सीमानाकाबाट स्वदेश फर्किनेको संख्यामा कमी आएको अधिकारीहरुले बताएका छन्।
कोरोनाभाइरस रोकथामका लागि सुदूरपश्चिमको बैतडीमा जुलाघाट, दार्चुलाको पुलघाट र जोलजिवी नाकाबाट मात्रै आउजाउ गर्न खुला गरिएको र अन्य छोटी नाका भने बन्द रहेको बताइएको छ।
डडेल्धुरामा आधिकारिक नाका नभएको कारण सीमा क्षेत्र महाकाली नदीमा सुरक्षा निगरानी बढाइएको छ भने बैतडीको जुलाघाट नाका र दार्चुलाको पुलघाट नाकामा भने हेल्थ डेस्क राखेर हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरिएको अधिकारीहरुले दाबी गरेका छन्।
भारतमा दैनिक ३ लाखभन्दा धेरै मानिस कोरोना संक्रमित भइरहेको अहिलेको अवस्थामा त्यसको प्रभाव नेपालमा समेत पर्ने चिन्ता गरिएको छ। नेपालमा पनि अब दैनिक २ हजार बढी कोरोना संक्रमित देखा पर्न थालिसकेका बेला भारतबाट आउने व्यक्तिहरु कोरोनाको स्रोत बन्ने चिन्ता गरिएको बेला सुदूरपश्चिमका भारतसँग जोडिएका पहाडी जिल्लामा भने सीमानाकामै कोरोना परीक्षणमा कडाइ गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।
‘अहिले सीमापारीबाट आउनेको संख्या पोहोरको जस्तो छैन। सीमानाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाइएको छ’ प्रमुख जिल्ला अधिकारीले जोशीले भने, ‘अहिले जिल्लाको अवस्था सामान्य छ। स्वास्थ्य मापदण्डको पालना गर्न गराउन कडाइ गरेका छौँ।’
बैतडी र दार्चुला जिल्लाको सीमानाकाबाट दैनिक करिब सय जना आउने गरेको र सबैको अनिवार्य एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ नतिजा आउनेको भने आरटी–पीसीआर विधिबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन्।
तर डडेल्धुरा पनि भारतसँग जोडिएको भएपनि आधिकारीक नाका नभएको कारण भारतबाट सिधै जिल्लामा कोहि नआइरहेको जनाइएको छ। तर जिल्लाका सबै स्थानीय तहहरुमा बाहिरबाट आउनेहरुको निगरानी गर्ने, संक्रमितको परीक्षण र उपचार अनि स्वास्थ्य मापदण्डको पालना गर्न गराउन भेला, जमघट, जात्रा भोज भतेरमा रोक लगाइएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।
‘डिसीएमसीको बैठक भर्खरै सक्किएको छ। सरकारले निर्देशन गरे बमोजिम हामीले १७ बुदेँ निर्देशन जारी गरेका छौ’ उनले भने, ‘बैशाख मसान्तसम्मका लागि भेला, जात्रा, भोज भतेर गर्नमा रोक लगाइएको छ। पच्चिस जनाभन्दा बढी भेला नहुन समेत आग्रह गरिएको छ।’
भारतको पिथौरागढ जिल्लासँग जोडिएको बैतडी जिल्लाको झुलाघाट नाकाबाट विगतमा सबैभन्दा धेरै आउजाउ हुने भएपनि विषुपछि भने मान्छेको आउजाउमा निकै कमी आएको बताइएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले सीमानाकामा हेल्थ डेस्क राखिएको र सबैको अनिवार्य स्वास्थ्य परीक्षण भइरहेको दाबी प्रशासकीय अधिकृत खगेन्द्र भारतीले गरे।
उनले भने, ‘भारतबाट दिनमा ५०देखि ६० जना मात्रै आइरहेका छन्। हामीले सबैको एन्टिजेन परिक्षण गरिन्छ। एन्टिजेनमा पोजिटिभ आउनेको अनिवार्य आरटी–पीसीआर परिक्षण गर्ने समेत गरेका छौँ। जिल्लामा स्वास्थ्य मापदण्डको कडाइ गरिएको छ।’
सुदूरपश्चिम प्रदेशमा बुधबारसम्म ३ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये दार्चुला जिल्ला बाहेक सबै जिल्लामा कोरानाका सक्रिय संक्रमित रहेका छन्।
पहाडी जिल्लामध्ये बैतडीमा सबैभन्दा धेरै ३१ जना, डडेल्धुरामा १०, अछाममा ४, बझाङमा २, डोटीमा १४, बाजुरामा २ जना संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। तर कैलालीमा भने सबैभन्दा धेरै २ सय ३ जना संक्रमित छन् भने दोस्रोमा कञ्चनपुर जिल्लामा १ सय १० जना संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ।