सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका यातायात व्यवसायीले गरेनन् आफ्नै प्रतिबद्धता पूरा, स्वास्थ्य सुरक्षा मापदण्डको धज्जी

२०७८ वैशाख ६, १०:१६ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिममा सार्वजनिक यातायामा स्वास्थ्य सुरक्षाका मापदण्डको उल्लंघन हुँदा कोरोना भाइरसको संक्रमण झन तीव्र हुने चिन्ता गरिएको छ।

कैलालीका यातायात व्यवसायीहरुले जिल्ला कोभिड व्यवस्थापन समितिमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर यातायात सुचारु राख्ने प्रतिबद्धता गरेको भएपनि व्यवहारमा मापदण्डको पालना नगरेको पाइएको छ।

सार्वजनिक यातायातमा मास्क लगाउने र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने अनिवार्य भएपनि उक्त नियमको निरन्तर उल्लंघन भएको गुनासो गरिएको छ।

कोरोना भाइरसको दोस्रो लहरको चपेटामा मुलुकसँगै सुदूरपश्चिम प्रदेश समेत पर्न थालेको भन्दै चिन्ता बढीरहेको बेला सुदूरपश्चिम प्रदेशमा भने सरकारी कार्यालयदेखि सार्वजनिक यातायातसम्म कोभिड १९ सुरक्षा मापदण्डको निरन्तर उल्लंघन भइरहेको छ।

सार्वजनिक यातायातमा मास्क लगाएर मात्रै यात्रा गर्न सरकारले नियम बनाएको छ तर, सर्वसाधारण र यातायात व्यवसायीले सो नियमको पालना नगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्र बोहराले बताए। 

‘जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सवारी साधनहरुमा अनिवार्य मास्क र सेनिटाइजरको व्यवस्था गर्ने सहमति भएको थियो’ उनले भने, ‘स्वास्थ्य सरक्षाका मापदण्डको अनुगमन हामीले पनि गरिरहेका छौँ। तर सवारी साधनहरुमा मास्क लगाउने नियमको पालना हुन सकेको छैन।’

कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्डको सबैले पूर्ण पालना गर्नुपर्ने भएपनि सार्वजनिक रुपमै दिनहुँ अवज्ञा गर्ने काम झनझन बढेको भन्दै चिन्ता गरिएको छ। यातायात व्यवसायीले भने लामो दुरीको यात्रीले मास्क लगाउने गरेको भएपनि छोटो दुरीको यात्रा गर्नेहरुले अटेरी गर्ने गरेको बताएका छन्। 

महाकाली यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्त भन्छन्, ‘छोटो दुरीका यात्रुले अटेरी गरेका देखिन्छ। हामीले आफैले पनि मास्क वितरण गर्ने गरेका छौँ। सर्वसाधारण सबैले स्वास्थ्य मापदण्डको ख्याल गर्नुपर्छ। हामीलाई मात्र रोग फैलायो भन्न त मिलेन।’

भारतबाट आएको यात्रीले मास्क लगाउने गरेको तर अन्यले पटकपटक अनुरोध गर्दा समेत मास्क लगाउन अटेरी गर्ने गरेको व्यवसायीहरुले बताएका छन्। बसमा यात्रा गर्ने यात्रुहरुलाई निःशुल्क मास्क वितरण र स्यानीटाइजर समेत राखेर सवारी साधन चलाउने गरेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए।

‘हामीले मास्क लगाउने कुरामा कडाइ गरेका छौँ। मास्क नलगाउनेलाई सवारी साधनमा बस्न नदिने भनेर सहमति गरिएको छ’ उनी भन्छन्, ‘कोभिड स्वास्थ्य सुरक्षाको कडाइसाथ पालना गर्न र गराउन सबै व्यवसायी, चालक र सहचालकलाई समेत भनिएको छ।’ 

सुदूरपश्चिम प्रदेशमा आइतबारसम्म १४ हजार ३ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने ५९ जनाको मृत्यु भएको तथ्यांक छ। 

हालसम्म १४०६३ जना संक्रमित निको भइसकेका छन्। 

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस