सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले गहुँ खरिदमा ढिलाई गर्दा सुदूरपश्चिमका किसानहरू आक्रोसित

२०७८ वैशाख ५, ११:२२ सरेन जैरू

धनगढीः सरकारले गहुँको समर्थन मूल्य तोकेपनि खरिद गर्नमा ढिलाई गरेको भन्दै सुदूरपश्चिमका किसानहरू आक्रोसित भएका छन्। सरकारले गहुँ खरिदमा ढिलाई गरेपछि विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि व्यापारीहरूलाई सस्तोमा गहुँ बेच्नुपर्ने बाध्यता कायम रहेको किसानहरूको गुनासो छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले समयमा गहुँ खरिदको प्रक्रिया सुरू नगर्दा किसानहरू आक्रोसित बनेका हुन्।

किसानहरूले गहुँ काटेर घरमा भित्र्याएको झण्डै महिना दिन पुग्न लागेको छ। तर सरकारले समयमा गहुँ खरिद नगर्दा उनीहरूको लगानी डुब्ने, वर्के खेतीको तयारी गर्नुपर्ने र गहुँमा छिट्टै किरा लाग्ने भएकोले व्यापारीहरूलाई सस्तोमा गहुँ बेच्नुपर्ने बाध्यता किसानहरूको छ। जसका कारण उनीहरूले ठूलो नोक्सानी बेहोर्नु परेको छ।

धनगढी उपमहानगरपालिका १७ उर्मीकी किसान भागरथी चौधरीले गहुँ भित्र्याएको एक महिनासम्म पनि गहुँ बेच्न नसकेको गुनासो गरिन्।

"हामिले मलखाद खरिद गर्नमा ठूलो लगानी गरेका हुन्छौँ।" उनले भनिन्, "तर सरकारले हाम्रो उत्पादन खरिद गर्नमा बेवास्ता गरेको छ। हामि निकै मारमा परेका छौँ। सरकारले समयमै गहुँ खरिद गरेन भने हामिहरूले फेरी व्यापारीहरूलाई सस्तोमा बेच्नु पर्नेछ।"

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरूमा गहुँको खेती हुने गरेको छ। तर अन्नभण्डार मानिने तराईका कैलाली कञ्चनपुरका खेतमा धान जस्तै गहुँ पनि अधिकतम उत्पादन हुने गर्छ।

कैलारी गाउँपालिका ६ का किसान खगेन्द्र चौधरीले निकै परिश्रम गरेर बढिभन्दा बढि गहुँ उत्पादन गरे पनि सरकारले खरिदमा लापरबाही गरिदिँदा मर्कामा परेको बताए। सरकारले छिटोभन्दा छिटो गहुँ खरिद गर्नुपर्ने उनको भनाई छ।

सरकारले खेती गर्नुभन्दा पहिलेनै गहुँको समर्थन मूल्य निर्धारण गर्ने गरेको छ। केन्द्रीय मन्त्रिपरिषदको बैठकले यस वर्ष गहुँको समर्थन मूल्य ३ हजार १ सय ११ रूपैयाँ तोकेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी प्रमुख इन्जिला बस्नेतले गहुँ खरिद समितिको बैठक बसेर एक साता भित्रै गहुँ खरिदको प्रक्रिया थालिने बताइन्। कार्यालयले यस वर्ष ५ हजार क्वीन्टल गहुँ खरिद गर्ने स्वीकृत कोटा पाएको उनले बताइन्।

सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको दाबी कृषि विकास निर्देशनालय दिपायलले गरेको छ। कैलाली र कञ्चनपुरमा मात्र ६ देखि ७ प्रतिशतको हाराहारीमा उत्पादन बढेको अनुमान गरिएको हो।

अनुकूल मौसम, पर्याप्त मल, सिँचाइको राम्रो व्यवस्था र गहुँमा किरा नलाग्नाले यस वर्ष पोहोरको तुलनामा उत्पादकत्व बढेको कृषि विकास निर्देशनालय दिपायलका  प्रमुख यज्ञराज जोशीको भनाई छ।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस