सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा गहुँ उत्पादनमा वृद्धि, कैलालीमा मात्र करिब ७ प्रतिशतले उत्पादन बढेको अनुमान

२०७८ वैशाख ३, ०७:४९ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको दाबी गरिएको छ। 

कैलाली र कञ्चनपुरमा मात्र ६ देखि ७ प्रतिशतको हाराहारीमा उत्पादन बढेको अनुमान गरिएको छ। यद्यपि बाली कटान सकिएर समग्र तथ्याङ्क आइसकेपछि मात्र के(कतिले उत्पादन बढ्यो भनेर भन्न सकिने बताइएको छ। अनुकूल मौसम, पर्याप्त मल, सिँचाइको राम्रो व्यवस्था र गहुँमा किरा नलाग्नाले यस वर्ष पोहोरको तुलनामा उत्पादकत्व बढेको विज्ञहरूको भनाई छ।

सुदूरपश्चिम प्रदेशको ढ वटै जिल्लाहरूमा गहुँको खेती हुने गर्दछ। तर अन्नभण्डार मानिने तराईका कैलाली र कञ्चनपुरका समथर फाँटका खेतमा धान जस्तै गहुँ पनि अधिकतम उत्पादन हुने गर्छ। 
गत वर्ष कैलालीमा सबैभन्दा बढी अर्थात् ३४ हजार ५ सय ६५ हेक्टर क्षेत्रफलमा गहुँको खेती गरिएको थियो। कैलाली जिल्लामा गत वर्ष १ लाख ११ हजार ४ सय ३८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो। 

कृषि ज्ञान केन्द्र कैलाली प्रमुख खगेन्द्र शर्माले यस वर्ष ५ देखि ७ प्रतिशतले गहुँको उत्पादन बढेको हुनसक्ने बताए। कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी गहुँको खेती हुने गरेको छ। कञ्चनपुरमा गत वर्ष ३१ हजार २ सय १०  हेक्टर क्षेत्रफलमा गहुँको खेती हुँदा ८२ हजार १३ मेट्रिक टन गहुँ उत्पादन भएको थियो।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले कञ्चनपुरमा यस वर्ष अनुमानित १ लाख २० हजार मेट्रिक टन गहुँ उत्पादन भएको बताए। प्रदेशभरी नै यस वर्ष गहुँको उत्पादनमा वृद्धि भएको अनुमान गरिएको छ। गहुँको लागि अनुकूल मौसम, प्रदेश सरकार र स्थानीय तहले उन्नत जातको बीउबीजनमा दिएको अनुदानलगायतका कारणले यस वर्ष उत्पादकत्वमा वृद्धि भएको कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए।

सुदूरपश्चिम प्रदेशमा गत वर्ष १ लाख ५३ हजार १ सय ४६ हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो। जसमध्ये ३ लाख ३८ हजार ६ सय ६० मेट्रिक टन उत्पादन भएको थियो। गत वर्ष कैलाली जिल्लामा सबैभन्दा बढी गहुँ उत्पाद भएको थियो भने सबैभन्दा कम दार्चुलामा १४ हजार ३ मेट्रिक टन उत्पादन भएको थियो।   

कैलाली जिल्लामा प्रदेशभरी नै तुलनात्मक रूपमा सबैभन्दा बढी अन्न बाली उत्पादन हुने गर्दछ।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस