सुदूर नेपाललाई विश्वसँग जोड्दै

मासुभात खान विषु वा दशैँ कुर्नुपर्ने त्यो समय

२०७८ वैशाख १, ०३:५५

बिन्दु चन्द, बैतडी :  वैशाख आउन एक महिना अगाडीदेखि नै मनमा एक किसिमको उत्साह हुन्थ्यो। चैतको उदासीलो महिना दिदी फुपूहरुलाई भेट्दैमा सकिँन्थ्यो। 

आमालाई भेट्न मामा घरका मान्छे आउँथे। खुब रमाइलो हुन्थ्यो। बहाना बनाएर, जिद्दी गरेर दिदीहरुको घर गइन्थ्यो ‘भेटौली’का लागि।  चैत वैशाखको महिना नरमाईला र उदासीला भनेर भन्ने गर्थे आमा बा’हरुले। 

तर बचपनमा हामीलाई त्यसको महसुस नै हुन्थेन। खेतमा गहुँ काट्नेबेला आमा ‘मेरो दाई आज आउँछ, भोलि आउँछ’ भन्दै काकीहरुसँग कुरा गर्थिन्। 

उनीहरु एक आपसमा माईती घरका कुराहरु खुबै गर्थे। मलाई सुन्नमा मजा लाग्थ्यो।चैत बैशाखको चट्किलो घाममा गहुँ पाकेको खेतहरु रंगीला देखिन्थे। गहुँ थन्क्याउनेहरुको चटारो हुन्थ्यो। रंगीन भिड, हाँसो मजाक, दु:ख–सुखका कुराहरुको गुनमुन गुनमुनले खेत गुञ्जायमान हुन्थे।   

अलि टाढाको डाँडामा कोही मान्छे हिनेको देख्दा को आएछन् है ? भेटौलीमा आए होलान है ? भनेर सबैको ध्यान उतै जान्थ्यो। हामी साथीभाईहरु हाम्रो मामा आए भन्दै लड्दै, दौड्दै ती मान्छे भएको ठाउँमा पुग्थ्यौँ। यसरी नै चैतको महिना गएको थाहै हुन्थेन्।

विषु पर्व आउन लागेको हप्ता दिन अगाडीदेखि नै तयारी सुरु हुन्थ्यो। त्यतिबेला मासुभात खान विषु पर्व र दशैँलाई नै कुनुपथ्र्यो। मासुका लागि विषु र दशैँ पर्व विशेष नै मानिन्थ्यो। 

घरमा खसी–बाख्रा धेरै हुन्थे। हामी भाइबहिनीले खसी बाख्रा भाग लगाएको हुन्थ्यौँ। आफ्नो खसी–बाख्रा विषुमा काट्न(मार्न) नदिने भन्दै अंगालो हालेर बस्थ्यौँ। 

विषुको दिन आफ्नो खसी काट्न नदिने भन्दै धेरै झगडा गर्ने, रोइ कराई गर्ने गरिन्थ्यो।  तर दाई र दिदीहरुसँग जित्न नसकिने। उनीहरुको भागको खसी काट्न परे हाम्रोबाट खोसेर लैजान्थे। 

विषुको दिन खसीको मासु  र भात। आहा ! छुट्टै आनन्द। फेरि मेरो खसीको मासु न खा ! भनेर खानेबेलामा धेरै झगडा पनि गरिन्थ्यो। कहिलेकाहिँ त आमाले चुलोबाटै पन्युले हिर्काइदिन्थीन्।

त्यतिबेला ५० रुपैँया भारुमा एक किलो मासु पाईन्थ्यो। ८० रुपैँया भारुमा एक लिटर सराब (रक्सी), १८ रुपैया भारुमा एक डिब्बा सिगरेट (चुरोट), ५ रुपैँया भारुमा एक डिब्बा बिंडी, र १ रुपैयाको ४ वटा टफि (चक्लेट) आउँथ्यो।  

मलाई राम्ररी याद छ। किनभने अक्सर धेरैजसो पसलमा मलाई नै पठाउँथे ती सामान ल्याउन। त्यतिबेला नेपाली रुपैँया कस्तो हुन्छ ? अहँ ! थाहा थिएन। अहिले पनि बैतडी तल्लो स्वराडस्थित पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा बढीजसो भारतीय रुपैँयामै कारोबार हुनेगर्छ।  

समय विस्तारै बदलिँदै गयो। गाउँमा पढाइ हुन थाल्यो। ३/५ कक्षा पास गरेर रोजगारीका लागि केही युवाहरु छिमेकी मुलुक भारत जान थाले। विस्तार विस्तारै गाउँमा परिवर्तन आयो। नयाँ युवा पीढी पनि सबै विदेसिन थाले। 

अनि यो परिवर्तन
बितेको १५ वर्षमै गाउँको मुहार फेरिएको छ। विकासले गति लिएको छ। अहिले म शहर पसेको ७ वर्ष भयो। ७ वर्षको यो बसाइमा न त्यस्तो विषु पर्व आयो न त दशैँ तिहार नै। 

घर फर्किँदा पनि न ती साथिभाई भेटिए। न त्यो आमाबाको काख नै। समयले मान्छेलाई कति परिवर्तन गर्दोरहेछ। अहिले गाउँ फर्किँदा वाक्क दिक्क लाग्छ। 

गाउँघर नयाँनयाँ मान्छे र नानीबाबुहरुले भरिएका छन्। खेतबारीमा काम गर्ने ती बलिया आमाबाहरु, काका-काकीहरु बुढा भइसकेका छन्। उनीहरुको हात र गालामा चाउरी परेको छ। कमजोर भैसक्यौँ भन्छन्। नयाँ मान्छे काम गर्न सक्दैनौँ  रे भन्छन्। 

खसी–बाख्राले भरिरहने खोर, गाई भैँसीले भरिरहने गोठहरु अहिले भान्छाका लागि प्रयोग भइरहेका छन्। आँगन छेउमा राखिने मलको थुप्रोलाई प्लास्टिक फाल्ने फोहोरको खाल्डो बनाइएका छन्। 

बचपनमा दाजुभाइले पसिना बगाएका ती खेतहरु बाँझा र उराठिला देखिन्छन्। गाउँ सुन सान भएको छ। टाढाका गाउँ तुवाँलोले ढाकिएका छन्। 

अहिले हरेकदिन मासुभात र भोज भतेर छ, तर त्यो आनन्द छैन। त्यो वातावरण छैन, न त ती झगडा गर्ने भाइबहिनी छन्। न त रमाइलो गर्ने ती साथिभाई नै छन्। न त रिस उठ्दा डाडु-पनिउँले हिर्काउने आमाबुवा नै साथमा छन्। हरेकको हातमा मोबाइल छ। नक्कली जस्तो देखिने टिकाटालो गर्‍यो, परिकारहरु देखायो र सामाजिक सञ्जालमा पोस्टिइहाल्यो। 

अहिले १२ छोराछोरी जन्माएकी मेरी आमा ‘हामी कती जना भयौं’ भन्दा औँला गन्छिन्। दाजुदिदी र साथीभाईहरु सबै आ–आफ्नो परिवार सम्हाल्नमै व्यस्त र मस्त छन्। 

कहिलेकाहि भेट हुँदा पनि भेटेको जस्तो महसुस नै हुँदैन्। इन्टरनेट, मोबाइल, सामाजिक सञ्जालमार्फत हरेक दिन साँझ बिहानको भेट र सम्वादले संस्कृति बिर्साइदिएको जस्तो लाग्छ।

अब त्यस्ता दिन नफर्केपनि वर्षौँदेखि बाँझा ती खेतहरु, डढेलोले पोलिएर खरानी भएका ती जंगलहरुमा हरियाली छाओस्। पानीका मूल फुटोस। प्रदूषणले भरिएको सहरमा ढुक्क, आनन्द र ताजा हावासँग सास फेर्न पाइयोस्। 

त्यो कोरोनाको माहामारीको जरो सुकोस, कहिल्यै नफिर्कियोस। कहाली लाग्दो, डर लाग्दो र त्रसित हुने २०७७ जस्तो बैशाख कहिल्यै फर्केर नआओस्।

नयाँ वर्ष २०७८ सालको पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदिबहिनीहरुको सुुखशान्ति समृद्धि एवम् उत्तरोत्तर प्रगतीको म र मेरो परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना। 

कमेन्ट लोड गर्नुस