सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा भारतले निर्माण गरिरहेको तटबन्ध संयुक्त टोलीद्वारा निरीक्षण

२०७७ चैत्र ३१, ०५:१० खबर संवाददाता

दार्चुला: दार्चुलाको महाकाली नगरपालिका ५ गल्फै क्षेत्रमा भारतले महाकाली नदीको बहावलाई असर पर्ने गरी नेपाली भूमिमै तटबन्ध निर्माण सुरु गरेपछि दुवै देशका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका छन्। 

२०७० सालमा महाकाली नदीमा आएको बाढीका कारण नदीले धार परिवर्तन गर्दा नेपालको भूमि नदीपारि परेको थियो। अहिले भारतले सोही क्षेत्रमा तटबन्ध निर्माण गरेपछि नेपाल सरकारले विरोध जनाउँदै आएको थियो।

दुबै देशबाट पाँच/पाँच सदस्यिय नापी विभागको टोलीले भारतले बनाइरहेको तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

नेपाली टोलीमा चिफ सर्भे अफिसर जयानन्द जोशीको नेतृत्वमा सर्भे अफिसर कमल शाही र कपिल कटुवाल तथा सर्भेयर शहदेश घिमिरे र सुन्दर देवकोटा रहेका छन्। यस्तै भारतको तर्फबाट डिएसएस माज जतिन्तर सिंहको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धिरज सिंह र दिनेश सिंह सहभागि रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले बताए।  

स्थलगत निरीक्षणका लागि दुबै देशको प्राविधिक टोली आएपछि तत्कालका लागि तटबन्ध निर्माणको काम रोकिएको उनले बताए। 

नेपाली पक्षसंग समन्वय नै नगरी सीमा क्षेत्रमा निर्माण भइरहेको तटबन्धको काम रोक्न जिल्ला प्रशासन कार्यालयले यसअघि पटकपटक पत्राचार गरेपनि भारतले वेवास्ता गर्दै तटबन्ध निर्माणको काम अघि बढाएको थियो। भारतले महाकालीमा एकतर्फी रूपमा पर्खाल लगाएर नेपालतर्फको भूमि जोखिममा पर्दा पनि सरकार मौन रहेको भन्दै संसदमा समेत सरकारको आलोचना भएको थियो।

कमेन्ट लोड गर्नुस