सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलानाला अतिक्रमणमा धनगढी उप–महानगरको दोहोरो चरित्र प्रमुख कारण भएको दाबी

२०७७ चैत्र ६, ०७:४६ नारायण अवस्थी

धनगढीःधनगढी उप–महानगरपालिकाको दोहोरो भूमिकाका कारण नगर क्षेत्रका खोलानाला मिचेर भौतिक संरचना बन्ने क्रम नरोकिएको गुनासो नगरबासीले गरेका छन्। 

पछिल्ला दिनहरुमा धनगढीको कैलाली नाला, सुकुटी नाला, शिवनगर नाला, क्याम्पस रोड नालामा धमाधम हरेक दिन उपमहानगरपालिकाकै स्वीकृतीमा घर लगायतका भौतिक संरचना बनाउन लागेको स्वयंम निर्माणकर्ता बताउँछन्। 

तर खोलानालाको अतिक्रमण हटाउन विगतमा नगर विकासले वितरण गरेका लालपुर्जा बाधक देखिएकाले ती लालपुर्जा खारेज गर्न कानूनी प्रक्रियामा जान उप–महानगरपालिकाले २०२१ साल यताको जग्गाको लगत संकलन गरेर अध्ययन गरिरहेको बताएको छ। 

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ५ भएर बग्ने सुकुटी नालामा पानीको बहावमा नै अवरोध आउने गरी ठाउँ ठाउँमा घर लगायतका भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ। 

भौतिक संरचना निर्माण गर्नेहरुले आफूसँग जग्गाको लालपुर्जा भएको र उप–महानगरपालिकाबाट नक्सा पास गरेर घर लगायतका संरचना बनाउन लागेको बताउने गरेका छन्। 

उप–महानगरपालिकाले भने नगर क्षेत्र डुवानमा पर्दा मात्रै अतिक्रमण हटाउन लालपुर्जा समेत खारेज गर्छु भन्ने अरु समयमा घर लगायतका संरचना निर्माण गर्न अनुमति दिएर दोहोरो भूमिका खेल्ने गरेकोे भन्दै तारानागरका स्थानीय तपेन्द्रबहादुर सिंहले गुनासो गरे।

‘धनगढीको सुकुटी नालामा हसनपुर, पञ्चोदय स्कूल प्रभात टोल लगायतका ठाउँहरुमा नाला अतिक्रमण तीब्र रुपले भइरहेको छ,’ उनले भने, ‘सो अतिक्रमण हटाउन र रोक्न नगरपालिकाले नसकेको र नचाहेको जस्तो देखिन्छ। खोलानालाको अतिक्रमणले नगर क्षेत्र नै डुबानको चपेटामा पर्दै आएको छ। नगर विकासले २०४८ सालदेखि २०७४ सालसम्म खोला नापेर दिएका लालपुर्जा खारेज गर्छौँ पनि भन्ने घरको नक्सा पनि गर्ने नगरपालिकाको दोहोरो भूमिका देखियो। यो ठीक भएन।’  

धनगढीका खोलानाला किनारको लालपुर्जा विगतमा दिइएको भएपनि खोलाको बहाव क्षेत्र नै मासिने गरी उप–महानगरपालिकाले नक्सा पास नगरेको इन्जिनीयर दिजराज भट्टले दाबी गरेका छन्। 

‘सुकुटी नाला र कैलाली नालाको बहाव क्षेत्र खोलाको किनारबाट १० मिटर दाँया र १० मिटर बाँया निर्धारण गरिएबमोजिम सडकको भाग समेत छुट्याएर नक्सा पास गर्ने गरिएको छ, उनले भने,’ ‘सुकुटी खोलाको बिचभाग समेत व्यक्तिको नाममा रहेको भेटिएको र सोको कारवाहीका लागि भने नगरपालिका र नगरविकासले आवश्यक कदम चाल्नुपर्छ। लालपुर्जा भएको जग्गाको नक्सा पास गर्दै भन्न त मिल्दैन नि।’ 

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातलीले समेत आफ्नो वडाको सुकुटी नालामा ठाउँ–ठाउँमा खोला अतिक्रमण भएको र सो हटाउन उप–महानगरले छानविन समिति बनाएर अध्ययन गरिरहेको बताएका छन्।

धनगढीमा अहिलेका जनप्रतिनिधी निर्वाचित हुनुपूर्व समेत खोला नालाको अतिक्रमण हटाउने अभियान चलाइएको थियो। 

त्यसपछि निर्वाचित जनप्रतिनिधीको पहिलो कार्यपालिकाको बैठकले समेत खोलानालाको अतिक्रमण हटाउने निर्णय गरेको छ। तर सो निर्णयको कार्यान्वयन गर्न नसकेपछि उनीहरुकोे आलोचना हुने गरेको छ। 

तर केहि दिन पहिले बसेको धनगढी नगर विकासको बैठकले वडा नम्बर ८ का अध्यक्ष नारायण बरालको संयोजकत्वमा खोलानालको जग्गा अतिक्रमण छानविन उपसमिति गठन भएको बताइएको छ। 

‘२०२१ सालयताको नापीको रेकर्डका आधारमा छानविन गरि नगर विकासले दिएको लालपुर्जा समेत बदर हुने गरेर कानूनी प्रक्रियामा जान गम्भीर किसिमले छानविनको प्रक्रिया अगाडि बढी रहेको छ,’ संयोजक बरालले भने, ‘हामी नगर विकासले दिएका लालपुर्जा खारेज गरेर अतिक्रमण हटाउन काम गरिरहेको छौँ। छिट्टै अध्ययन सकेर प्रतिवेदन नगर प्रमुखलाई बुझाउछौँ।’ 

गत पुष १ गते माथिल्लो तारानगरको सुकुटी नालामा बन्न लागेको घर भत्काएको धनगढी उप–महानगरपालिकाले त्यसपछि नाला नै अतिक्रमण हुनेगरी बनाइएका संरचना भने हटाउन नसकेको नगारबासीले गुनासो गरेका छन्। 

तर उप–महानगरपलिकाले यो पटक भने सधैका लागि अतिक्रमणको समस्या समाधान हुनेगरी नगर विकासले वितरण गरेका लालपुर्जा खारेज गर्न कानूनी उपचार खोज्ने बताएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस