सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवामा चिसो हट्दै : पर्यटक बढ्दै

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७७ चैत्र ४, ०२:२६

रसुवा: अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । 

कोभिड–१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको सङ्ख्या बढ्न थालेको हो । लाङ्टाङ तथा तामाङ सम्पदा मार्गमा आउने पर्यटक बढी देखिएका छन्  । 

हिमाली भेगको हिमपात क्रमशः पग्लिन थालेको र तातोपना बढ्दै गएकाले आन्तरिक पर्यटकको आगमन क्रमशः बढ्न थालेको व्यवसायीले बताएका छन् । रसुवा घुम्ने पर्यटकको सङ्ख्या हिजोआज दैनिक २०/२५ जनाले बढिरहेको छ । 
उनीहरू गोसाइँकुण्डतर्फ धार्मिक यात्रामा केन्द्रित हुने गरेका छन् ।

हिमाली प्रकृतिको अवलोकन गर्ने उपयुक्त समय भएको र कोभिड–१९ को सङ्क्रमण शून्यमा झरिसकेकाले यही चैत १५ गतेदेखि दैनिक २०० भन्दा बढीको आगमन हुने अनुमान गरिएको छ । पर्यटक बढेसँगै भोजन तथा बासको उचित प्रबन्ध मिलाउन आवश्यक पर्ने खाद्यान्न भण्डार र सुत्नका लागि लजको सुदृृढीकरण भइसकेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिए ।

विदेशी पर्यटकका भरमा आत्मनिर्भर बनेको लाङ्टाङ पर्यटकीय पदमार्गमा पनि फाट्टफुट्ट रूपमा आन्तरिक पर्यटक आउन थालेका कारण केही राहत मिलेको लाङ्टाङ क्षेत्रका व्यवसायी ढिण्डुप तामाङले बताए । उता तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङको पार्वतीकुण्ड, बाक्लो मानवबस्ती, स्थानीय परिकार, परम्परागत वेशभूषा, जङ्गलमा चर्ने हिमाली चौँरीगाईका बथानको अवलोकनजस्ता आकर्षणले पर्यटक रमाउने गरेको पर्यटन व्यवसायका अगुवा फुर्पु दोर्जे तामाङले बताए ।

रसुवा क्षेत्रमा विसं २०५७/५८ मा स्थापना गरिएको बृद्धिम घरबास पाहुनाका लागि आकर्षण बन्दै गएको छ । पर्यटन प्रवद्र्धनका माध्यमबाट ग्रामीण गरीबी न्यून हुने विश्वासका साथ तत्कालीन घरबास सञ्चालनमा ल्याइएको हो । हाल यहाँ २७ घरले अतिथिलाई सेवा दिइरहेका छन् । 

घरवासमा आउने पाहुनालाई बृद्धिम पुग्नासाथ पहिलोे स्वागत गरी बासस्थानको घर तोक्ने र स्थानीय खाना खुवाउने व्यवस्थापन गरिएको बृद्धिम घरवास सञ्चालन समितिका अध्यक्ष नुर्पु तामाङले जानकारी दिए । खानपिन र बसोवासमा कुनै समस्या नपर्ने र हिमाली प्रकृतिको छटा सुन्दर देखिन थालेका कारण रसुवा घुम्नका लागि यहाँका व्यवसायीले पाहुनामाझ आग्रह गरेका छन् ।

कमेन्ट लोड गर्नुस