सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्मिमा पर्यटन बोर्डको गतिविधि शुन्य, गड्डा चौकी सूचना केन्द्र सहयोगीको भरमा

२०७७ चैत्र ३, ०८:३६ कमल सावद

धनगढी: सुदूरपश्चिम प्रदेशमा नेपाल पर्यटन बोर्डका गतिविधि शुन्य भएका छन्।

धनगढीमा पर्यटन बोर्डको प्रादेशिक कार्यालय सञ्चालन गर्ने योजना भएपनि कञ्चनपुरमा स्थापना गरिएको सूचना केन्द्र कार्यालय सहयोगीको भरमा छोडिएको छ।

भारत तथा तेस्रो मुलुकबाट आएका पर्यटकहरुलाई आवश्यक सूचना दिन स्थापना भएको कार्यालय अस्तव्यस्त पारिएको भन्दै पर्यटन व्यवसायीहरु आक्रोशित बनेका छन्।

नेपाल पर्यटन बोर्डको कञ्चनपुरको गड्डाचौकीमा सूचना केन्द्र स्थापना गरिएको छ। सूचना केन्द्रमा कर्मचारीको समेत दरबन्दी छ। बोर्डका अनुसार भारत हुँदै सुदूरपश्चिम प्रवेश गरेका पर्यटकलाई पर्यटकीय स्थलका बारेमा जानकारी दिन सूचना केन्द्र स्थापना गरिएको हो। तर पर्यटन बोर्डको सूचना केन्द्र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ। केन्द्रमा ७०-८० जना कर्मचारी हुने पर्यटन बोर्डले एक जना कर्मचारी पनि यहाँको केन्द्रमा नपठाएको भन्दै सुदू्रपश्चिमका पर्यटन व्यवसायीले आक्रोश व्यक्त गरेका छन्। सूचना केन्द्र पुगेका  पर्यटन व्यवसायी किशोर खड्काले कार्यालय अस्तव्यस्त रहेको बताए। 

उनले भने, “कार्यालयमा पुगेको थिए। कार्यालय बन्द थियो। कार्यालय सहयोगीलाई फोन गरेर बोलायौ। उहाँ आउनु भयो। तर कर्मचारी कोही छैन्। कार्यालय अस्तव्यवस्त छ। बोर्डले एक जना कर्मचारी पठाएको छैन्।”

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन स्थापना गरिएको सूचना केन्द्र सहयोगीको भरमा सञ्चालनमा रहेको बेला प्रादेशिक कार्यालय स्थापनाको योजना समेत अलपत्र परेको छ। नेपाल पर्यटन बोर्डले धनगढीमा प्रादेशिक कार्यालय स्थापना गर्ने निर्णय गरेको भएपनि कार्यालय भवन, कर्मचारी, उनीहरुको काम तथा कर्तव्यबारे अझै अन्योलता रहेको हो। नेपाल पर्यटन बोर्डका निर्देशक मनी लामिछानेका अनुसार कार्यालयमा कर्मचारी पठाउन बोर्ड तयार छ। 

नेपाल पर्यटन बोर्डले धनगढीमा प्रादेशिक कार्यालय स्थापनाका लागि जिल्ला समन्वय समितिसँग भवन माग गरेको छ। समन्वय समितिले कार्यालय सञ्चालनका लागि भवन दिने आश्वासन दिएको छ। तर हस्तान्तरणको प्रक्रिया अझै पुरा भएको छैन्।  लामिछानेका अनुसार धनगढीमा प्रादेशिक कार्यालय स्थापनाका लागि स्थानको खोजी हुँदैछ। प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने उनले बताए। 

भारत लगायतका देशबाट आएका पर्यटकलाई सुदू्रपश्चिमका पर्यटकीय स्थलहरुमा घुमाउँन सके प्रदेश आर्थिक रुपमा बलियो हुने पर्यटन व्यवसायीको भनाइ छ। तर पर्यटन बोर्डको लापरवाहीका कारण प्रदेशमा आउने पर्यटकहरु अन्योलमा पर्दै आएको व्यवसायीले बताएका छन्। 


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस