धनगढीमा ‘स्टिमेटमा त्रुटि’ भन्दै क्षेत्रीय सहरी विकास आयोजना अन्तरगतका सडकको चौडाइ घटाउने चलखेल
धनगढीः एसियाली विकास बैंकको क्रण सहयोगमा धनगढीमा संघीय सरकारले कार्यान्वयन गरिरहेको क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका सडकमा पुनः चौडाइ घटाउने चलखेल सुरु भएको छ।
यसअघि लम्बाइ र चौडाइ समेत घटाएर ४२ किलोमिटर मध्ये १० किलोमिटर सडक निर्माणको ठेक्का लगाइएको ९ महिनापछि पुनः पूरानै चलखेल सुरु भएको हो।
ट्राफिक चौराहदेखि मुख्यमन्त्री कार्यालयसम्मको १ दशमलव ३८ किलोमिटरको सडकको चौडाइ पनि घटाउने चलखेल चलेको छ।
एसियाली विकास बैँकको क्रण सहयोगमा संघीय सरकारले कार्यान्वयन गरिरहेको लम्बाइ र चौडाइ घटाएर कुल ४२ किलोमिटर मध्ये १० दशमलव ५० किलोमिटर मात्र पहिलो चरणमा कालोपत्रेका लागि ठेक्का लगाइएको ९ महिनामै अर्को चलखेल थालिएको हो।
सडकको क्षेत्राधिकार मिचेर बनाइएका घरधनीका संरचना जोगाउन लम्बाइ र चौडाइ घटाएर ठेक्का दिने तयारी भइरहेको स्रोतको दाबी छ।
संघीय आयोजना कार्यान्वन इकाईका प्रमुख प्रवीण शाहले सडकको स्टिमेट र प्रगतिको बारेमा अध्ययन गरिरहेको बताए। उनले भने, “मैले धेरै बुझ्न पाएको छैन्। बुझ्ने चरणमै छु। स्टिमेटमा केही कुरा छुटेको भनिएको छ। त्यो कुरामाथिबाट स्वीकृति ल्याउनुपर्छ। भोलि (सोमबार) छलफल छ। त्यहाँ कुरा आउन सक्छ।”
धनगढी चौराहदेखि क्याम्पस रोडसम्मको मुख्य सडकको चौडाई ३० मिटर कायम गरिएकोमा घटाएर २४ मिटरमा झारिएको थियो। २४ मिटर पनि भौतिक संरचना खाली गराउन नसक्ने भन्दै धनगढी उपमहानगरले चौडाइ घटाउने प्रस्ताव गर्न थालेको दाबी गरिएको छ। डिजाइन स्टिमेटमा त्रृटि भएको कारण देखाएर सोही मौकामा चौडाइ समेत घटाउन लविङमा उपमहानगरपालिका लागेको बताइएको छ।
शाखा सडकहरुमा क्याम्पस गेट–चटकपुर सडकको चौडाइ १६ मिटर कायम गरिएको छ। २४ मिटर क्षेत्राधिकार भएको सो सडकको १६ मिटरमा भौतिक संरचना निर्माण हुँदैछन्। तर १६ मिटरभित्र पर्ने अधिकांश ठाउँमा भौतिक संरचना समेत अहिलेसम्म हटाउन वेवास्ता गरिएको छ।
तर संरचना खाली गराउन लागेको उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए। उनले भने, “सडक क्षेत्रमा परेका संरचना केहीले आफै भत्काएका छन्। केहीले भत्काउँदैछन्। केही ठाउँमा बाँकी छ। उहाँहरु पनि भत्काउँनु हुन्छ।”
यसअघि धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडसहितका जनप्रतिनिधिसहितको बैठकले नै सडकको लम्बाइ र चौडाइ घटाएको थियो। २ वर्षमा सडक निर्माण सक्ने गरी गत वर्षको असारमा ठेक्का लगाएकोमा शहीदगेट क्याम्पस रोड सडक र हसनपुर सडक बाहेकका अन्य सडकमा काम थालिएको छैन। सडक निर्माणको ठेक्का पाएको कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलले स्टिमेटमा केही त्रृटि भएकाले सच्याउने प्रयास भएको बताए। उनका अनुसार विद्युतका पोल, खानेपानीका पाइप बिस्तारका लागि ठाउँ नछोडिएको हो।
उनले भने, “केही त्रृटि देखिएको छ। म धनगढी आएको छु। छलफल गर्नु पर्ने देखिएको छ। त्यसपछि मात्र के–के कुरा परिवर्तन गर्ने पक्का हुन्छ।”
अन्य सडकहरु १० देखि १२ मिटर चौडा हुनेछन्। पहिलो प्याकेजमा १ दशमलव ३८ किलोमिटरको धनगढी मुख्य सडक, संघीय प्रहरीदेखि चर्चसम्मको २ दशमलव ७ किलोमिटर सडक, ७ सय मिटरको क्याम्पस गेट–जखोरताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पसगेट–चटकपुर सडक, ८ सय ७० मिटरको डिभोटी–पिपलचौतारा सडक, १ दशमलव १५ किलोमिटरको हसनपुर सडक र ४ सय ३० मिटरको मालपोत सडक कालोपत्रेका लागि गत साउन ३१ गते सम्झौता भएको छ।