सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सडकको चौडाई घट्ने, मुख्य सडक २४ मिटर

२०७५ चैत्र २२, ११:३९ कमल सावद

धनगढीका सडकहरुको चौडाई घट्ने भएको छ। क्षेत्रिय शहरी विकास आयोजनाले कार्यान्वयन गरिरहेका सडकको चौडाई घटाउने तयारी भएको हो। एसियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालीत क्षेत्रिय शहरी विकास आयोजाना अन्तरगतको ४२ किलोमिटर सडकको चौडाई घटाएर कार्यान्वयन गर्ने तयारी गरिएको छ।

अहिले आयोजना अन्तरगत पहिलो चरणमा निर्माण हुने १० किलोमिटरको चौडाई घटाएर कालोपत्रे गरिने क्षेत्रिय सहरी विकास आयोजना कार्यान्वयन एकाईका सूचना अधिकारी श्याम बुढाथुकीले जानकारी दिए ।

यस्तै धनगढी चौराह देखि क्याम्पस रोड सम्मको मुख्य सडकको चौडाई ३० मिटर कायम गरिएकोमा घटाएर  २४ मिटर सडकको चौडाई कायम गर्ने सहमति भएको बुढाथोकीले बताए। तर शाखा सडकहरु भने २४ मिटर भन्दा कम चौडाईका हुनेछन्। क्याम्पस गेट–चटकपुर सडकको चौडाई पनि अब १६ मिटर मात्र हुने भएको छ। अन्य सडकहरु १० देखि १२ मिटर चौडा हुनेछन्। एक अर्ब ३६ करोडको लागतमा १० किलोमिटर सडक निर्माणको प्रक्रिया सुरु भएको हो।

सुरुदेखि फोहोरमैला व्यवस्थापन केन्द्र एसीयाली विकास बैँकले पहिलो शर्तमा राखेपनि अहिले आएर १० किलोमिटर सडक कालोपत्रेको योजना अगाडी बढाउने दिने सहमती अनुसार सडक क्षेत्रमा पर्ने घर र जग्गा धनीलाई मनाउने काम भईरहेको छ। धनगढी उप–महानगरपालिकामा २३ वटा सडक कालोपत्रे गर्ने योजना रहेकोमा पहिलो चरणमा सात  सडक मात्र कालोपत्रे हुने क्षेत्रिय शहरी विकास आयोजना कार्यान्वयन ईकाइले जनाएको छ।

पहिलो प्याकेजमा एक दशमलव ३८ किलोमिटरको धनगढी मुख्य सडक, संघिय प्रहरी देखि चर्च सम्मको दुई दशमलव सात किलोमिटर सडक, सात सय मिटरको क्याम्पस गेट–जाखोरताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पसगेट–चटकपुर सडक, आठ सय ७० मिटरको डिभोटी–पिपलचौतारा सडक, एक दशमलव १५ किलोमिटरको हसनपुर सडक र चार सय ३० मिटरको मालपोत सडक कालोपत्रेको तयारीमा रहेको क्षेत्रिय सहरी विकास आयोजना कार्यान्वयन ईकाइका सूचना अधिकारी बुढाथुकीले बताए।

आयोजना अन्तरगत कार्यान्वयन गर्ने निकायले बढिमा ४२ वटा भौतीक संरचना भत्काउन पाउने छ। मुख्य बजारमा २४ मिटर चौडा सडक बनेपनि संरचना भत्काउनुपर्ने देखिएको छ। कसैले विरोधमा कानुनी बाटो तय गरे भने आयोजना कार्यान्वयनमा जटिलता आउने देखिएको छ। अहिले चौडाई घटाएर सडक कालोपत्रेका योजना कार्यान्वयन गर्दा दीर्घकालीन रुपमा समस्या सिर्जना हुने देखिएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस