सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका नागरिकलाई ३ पाने तुइनकै भर

२०७७ फाल्गुन २९, ०३:५९ नरेन्द्र कार्की

दार्चुला: दार्चुला र धार्चुलालाई जोडिएको छ महाकाली नदीले। बिहान ७ बजे दार्चुला–धार्चुला जोड्ने झोलुङ्गे पुलको ढोका खुल्छ।

फेरि बेलुकी ५ बजे पुनः ढोका बन्द हुन्छ। पुलको ढोका खुलेसँगै स्थानीयको नेपाल भारत अर्थात दार्चुला धार्चुला आवतजावत सुरु हुन्छ। यहि वारीपारीको शृङ्खला सदरमुकाम खलङ्गामा मात्र नभई उत्तर तिरका आधा दर्जन ठाउँका तुइनमा पनि निरन्तर चलिरहन्छ।

यहि तुइनमा दैनिकी बिताउँदैछन् व्यास गाउँपालिका– २ का कल्यानसिह धामी। तुइनमार्फत आवतजावत गर्नेलाई सहयोग गर्ने काम हो धामीको। कयौंलाई तुइन तर्न आउँदैन्। तुइन तर्न आएन भने महाकालीमा अकालमै स्थानीयहरुको ज्यान जाने गरेको धामी सुनाउँछन्। ३ पाने तुइनमा वारपार गर्नेलाई डोरीको सहारामा पठाउने काम धामीले गर्दै आउका छन्। 

धार्चुलाबाट एक घण्टाको गाडी यात्रापछि व्यासको तुइन क्षेत्रको यात्रा सुरु हुन्छ। भारतले कालापानी मार्ग भनेर यो सडक कालोपत्रे गरेको छ। व्यासका स्थानीय नेपाल भारत जोड्ने झोलुङ्गे पुल नहुँदा महाकाली नदीमा तीन पाने फलामे तुइन तरेर घर आवजाउ गर्ने गर्छन्। यो उनीहरुको दैनिकी हो। दैनिक उपभोग्य वस्तु मात्र नभई गर्भवती, सुत्केरी र बालबालिका पनि त्यहि तुइनमार्फत वारपार गर्न बाध्य छन्।

‘नेपालतिर सडज बाटो छैन्। आफ्नै गाउँ आउजाउ गर्न नेपालको भन्दा सहज बाटो भारत हुन्छ’ व्यास ३ का स्थानीय मानसिह खातीले भने ‘भारततिर कालोपत्रे सडक छ। महाकाली नदीमा ३ पाने फलामको डोरीमा तर्ने वित्तिकै गाउँ नजिकै हुन्छ। तर, आफ्नै भूमि भएर व्यास गाउँपालिकाको सुनसेरा पुग्न एक दिन लाग्छ।’

नेपालतिर भर्खर मात्रै सडकको ट्याक खुल्दैछ। सडक जोखिमपूर्ण भएको हुँदा यहाँका स्थानीय वर्षौदेखि तुइनकै भर पर्छन्।  ज्यानकै बाजी लगाएर जानु पर्ने ठाउँमा स्थानीयले भारतीय एसएसबीको आँखा छल्नुपर्छ।

एसएसबीले नियमित गस्ती गर्छन्। उनीहरु आए सिधै तुइन काटिदिन्छन्। तुइन अवैध भए पनि यहाँका नागरिकलाई सहज र छोटो बाटो यहि तुइनको प्रयोगमार्फत हुन्छ। देशमा झण्डै एक वर्ष बन्दाबन्दी हुँदा पनि यहाँका नागरिकले भारतकै खाद्यान्न लुकिछिपी यहि तुइनबाट ल्याएका थिए। ज्यानकै बाजी लगाएर भए पनि यहि बाटो हिड्नुको विकल्प पनि त छैन्।

नेपाल सरकारले तुइन विस्थापन गर्ने नीति लिएपनि दार्चुलाको व्यास क्षेत्रमा अझै तुइन विस्थापन बाँकी छ। अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने नीति लिनु भएको हो। त्यहि तुइन विस्थापन अन्तर्गत दार्चुलाका लाली, र तिगरमा तुइन निर्माण भए भने अहिले व्यासकै बडुगाउँ माल र बाकुमा तुइन विस्थापनको लागि झोलुङ्गे पुल निर्माण कार्यको सुुरुवात गरिदैछ।

तर, तुइन विस्थापनमा ढिलाई हुँदा स्थानीयले जोखिम मोलेर आवतजावत गर्नु परेको बताउँछन् भारतीय नागरिक रवि सिंह।  ‘दुई देशबीच रोटी र बेटीको सम्बन्ध छ। दुई देशको भिन्नता केहि पनि देखिदैन यो क्षेत्रमा। बोली एउटै, विहेवारी वारीपारी छ। धार्चुलाबाट दैनिक उपभोग्य वस्तु यहि क्षेत्रबाट ढुवानी हुन्छ। नेपालतिर सडक सञ्जालले भर्खर मात्रै जोडिदैछ। हामी पनि यहि तुइन तरेर नेपाल जान्छौं’ रविले भने। 

नेपालतिर भरपर्दो बाटो नभएकै कारण व्यासीहरु भारतीय सडक मार्गको पहुँच भएको क्षेत्रबाटै खाद्यान्न लगायतका सामाग्री निर्यात गर्छन्। स्थानीय गणेशसिह धामी नेपालतिरको सडक कालोपत्रे नभएसम्म भारतकै बाटो प्रयोग गर्न सहज हुने बताउछन्। खाद्यान्न उत्पादनको हिसाबले यो क्षेत्रमा तीन महिना देखि ६ महिनासम्म मुस्किलले खान पुग्छ। दैनिक मजदुरी गर्न भारततिरै जानुपर्छ।

दार्चुलाको व्याँस गाउँपालिकाको वडा नम्बर २ राप्ला,दुम्लीङ, माल, वडा नम्बर ३ को सिना, वडा नम्बर ४ को सुनसेरा, वडा नम्बर ५  धौलाकोट लगायतका स्थानीयले अहिले पनि तुइनकै प्रयोग गरेर आवतजावत गर्नुपरेको छ।

व्यासको तिगरमा नेपाल भारत जोडने झोलुङ्गे पुल निर्माण भएपनि अझै अधिकांश वस्ती जोड्ने झोलुङ्गे पुल नहुँदा स्थानीयले आधादर्जन बढि ठाउँमा तुइनको प्रयोग गरेर आवतजावत गर्ने गर्छन्। तुइन विस्थापन अन्तर्गत झोलुंगे पुल निर्माणको काम समयमै सकिए स्थानीयले तुइन तर्नु पर्ने बाध्यता अन्त्य हुने स्थानीय बताउँछन ।

व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी अहिले व्यास क्षेत्रमै नेपाल भारत जोडने झोलुङ्गे पूल निर्माण भइरहेकोले आगामी वर्षभित्र स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे। ‘एक वर्ष कोभिडका कारणले पुल निर्माण हुन सकेन्’ उनले भने, ‘अहिले निर्माण व्यवसायीले निर्माणका सामग्री ढुवानी थालेका छन्। यसले छिट्टै  तुइन विस्थापन हुने आशा पलाएको छ।’

झोलुङ्गे पुल निर्माणमा ढिलाई
दार्चुलामा महाकाली नदीमाथि नेपाल भारत जोडन लगाइएका तुइन विस्थापन अन्तर्गत झोलुङ्गे पुल निर्माणको काममा अझै ढिलाई भएको छ। तुइन विस्थापन अन्तर्गत ब्यास गाउँपालिकाको मालघाट, बडुगाउँ र मालिकार्जुन गाउँपालिकाको बाकुमा तुइन विस्थापन अन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काममा ढिलाई भएको हो।

गत वर्षदेखि नै निर्माण काम सुरु भएको थियो। तर, कोरोनाका कारण चैत ११ गतेदेखि सीमानाका बन्द र लकडाउन हुँदा पुल निर्माणको काम एक वर्षदेखि रोकिएको थियो।

तुइन विस्थापन अन्तर्गत ब्यास गाउँपालिका–२ को माल र वडा नम्बर ३ र ४ को बर्तीघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको छ। यस क्षेत्रमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माणको लागि २ करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको छ।

बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले निर्माणको ठेक्का पाएको छ। दुवै ठाउँको पुल निर्माण गर्न २ करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको हो। अहिले कोभिड कम हुँदै जानु र सीमानाका खुलेसँगै पुल निर्माण सामाग्री ढुवानी सुरु गरिएको मालिकार्जुन निर्माण सेवाका निर्माण व्यावसायी दिपक साउदले बताए।

उनले भने, ‘पूलको लागि चाहिने लठ्ठा आवश्यक उपकरणहरु ढुवानी भइसकेको छ। अब चाडै पुल निर्माण कार्यले गति लिन्छ। सीमानाका बन्द नभएको भए अहिलेसम्म पुल निर्माण काम सकिन्थ्यो। अहिले दार्चुला धार्चुला हुँदै निर्माणस्थलमा सामग्री ढुवानीको काम चलिरहेको छ।’

यसअघि मालिका निर्माण सेवाले लेकम गाउँपालिका–३ लालीमा नेपाल भारत जोडने झोलुङ्गे पुल निर्माण गरेको थियो। लालीमा झोलुङ्गे पुल निर्माणपछि त्यो क्षेत्रमा सञ्चालन हुने ट्युब विस्थापन भएको थियो।

व्यास गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको ब्यास गाउँपालिका–२ का स्थानीय दानसिह कार्कीले बताए। 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस