सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले सुदूरपश्चिममा हलचल, दुई नेताका चार कुरा

नेकपा एमाले विवाद

२०७७ फाल्गुन २७, ०३:३६ नारायण अवस्थी

धनगढी: दुई चिरामा विभक्त नेकपा एमाले अब कता जाला? ओली पक्षीय नेता  कर्णबहादुर थापा र नेपाल पक्षीय नेता भानुभक्त जोशीका चार दलिल यस्ता छन्।

नेपाल कम्युनिस्ट पार्टी(एमाले) को धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको प्रदेश पार्टी कार्यालयमा पार्टीको ब्यानर राख्ने क्रममा ओली र नेपाल पक्षीय नेता कार्यकर्ताबीच फागुन २६ गते झडप भएको छ। 

नेकपा एमाले ब्युँतिएपछि एमाले कार्यालय बाहिर किन तनाव भयो? केन्द्रदेखि गाउँगाउँसम्म फैलिएको एमाले भित्रको झगडाको समाधान के हो भनेर दिनेशखबरको नागरिक सवालमा ओली पक्षीय नेता कर्णबहादुर थापा र नेपाल पक्षीय नेता

भानुभक्त जोशीसँग कुराकानी गरिएको थियो। 

सो कुराकानीमा दुबै नेताले बताएका चार कुरा यसप्रकार छन्।

ओली पक्षीय नेता कर्णबहादुर थापाले भीम रावलको पार्टी भाँड्ने षडयन्त्र पूरा हुन नदिने बताएका छन्। 

थापाका चार कुरा यस्ता थिए।

१. रावलले आफ्नो घर छोडेका थिए।
नेता कर्णबहादुर थापाले भीम रावलले विगतमा एमाले पार्टी र कम्युनिस्ट सिद्धान्त छोडेको आरोप लगाएका छन्। आफ्नै पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्नुपर्छ भन्ने रावललाई एमालेको प्रदेश संयोजक हुँ भन्ने नैतिक आधार समाप्त भएको छ।

२. भीम रावल प्रचण्डको पार्टीका नेता हुन।
नेता कर्णबहादुर थापाले नेकपा एमालेको प्रदेश संयोजक लेखराज भट्ट हुन् भनेका छन्। उनले भने, ‘भीम रावल प्रचण्डको पार्टीका नेता हुन्। नेकपा एमाले हँु भनेर पार्टीमा आउने र फेरि अगाडि बढ्न लागेको पार्टी संगठनलाई षडयन्त्र गरेर कमजोर बनाउन दिइदैन। भीम रावल नेकपाका प्रदेश संयोजक थिए। तर बिचमा पार्टी छोडेर उहाँ प्रचण्डको पछि लागेकोले रावलले आफ्नो भूमिका प्रचण्डको पार्टीमा खोज्नुपर्छ। प्रदेशको संयोजकको हैसियत खोज्ने भए प्रचण्डको साथ जान सक्नु हन्छ।’

३. भीम रावल एमालेमा आउनु भएकै छैन।
नेता कर्ण थापाले भीम रावल एमालेमा अझै आइनसकेकोले उहाँलाई कसरी एमालेको नेता मान्ने भनेर प्रश्न गरेका छन्। ‘रावलले पार्टी अध्यक्ष ओली र सरकारको जसरी विरोध गर्ने काम गरेका थिए त्यो लिपिबद्ध गरेर पढ्ने हो भने रावललाई पार्टीमा आउन आफै पनि असजिलो हुनुपर्ने हो। हिजोसम्म पार्टी अध्यक्षका विरुद्ध अनेक षडयन्त्र गर्नेलाई आज नेता मान्न सकिदैन।’ थापाले भने। 

४. अस्ति केपीलाई सिध्याउछु भन्नेलाई कसरी नेता मान्ने?
नेता कर्णबहादुर थापाले अस्तिसम्म ओलीलाई सिध्याउँछु, एमाले पार्टीलाई समाप्त पार्छु भन्नेलाई नेता मान्न नसकिने बताएका छन्। पार्टीको निर्णय बमाजिम भिम रावल प्रदेश कमिटीमा हुनुहुन्न। तसर्थ उहाँले एमालेको सुदूरपश्चिम प्रदेश पार्टी संयोजक रहेको भन्न मिल्दैन। पछिल्लो पटक गरिएका पार्टीका निर्णयका आधारमा उहाँले एमालेको नेता हुँ भन्ने दाबी गरेपनि सो दाबीलाई पार्टीका पछिल्ला निर्णयले नचिन्ने थापाले बताएका छन्।

भीम रावल पक्षीय नेता भानुभक्त जोशीले भने नेकपा एमाले अदालतको फैसलापछि पूर्ववत अवस्थामा फर्किएकोले हिजोको जिम्मेवारी स्वतः पाउनुपर्ने बताएका छन्। जोशीका चार कुरा यस्ता थिए।

१. प्रदेश कार्यालयको झडप अनपेक्षित
बुधबार प्रदेश पार्टी कार्यालयमा भएको झडप अनपेक्षित भएको नेता जोशीले बताएका छन्। पार्टीको ब्यानर तथा नाम लेखिएको बोर्ड हटाउने काम गलत भएको जोशीले बाएका छन्। पार्टीको पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटीमा कुनै निर्णय नहुँदै कर्ण थापा जीकै नेतृत्वमा पार्टी कार्यालयमा झडप हुनु पार्टीका लागि घातक हुने नेता जोशीले बताएका छन्।

२. नेकपा एमालेको प्रदेश संयोजक भीम रावल नै हुन्।
‘अदालतको निर्णयपछि नेकपा एमाले २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पुगेको छ। नेकपा एमाले र माओवादीको एकताको औचित्य समाप्त भएपछि एमालेको प्रदेश संयोजक स्वतः भीम रावल नै हुन्। यो करामा बिबाद गर्नु भनेको पार्टीलाई नै क्षति पुगाउनु हो। पार्टीको विधि, पद्धति अनुसार भीम रावल नै सुदूरपश्चिम प्रदेशको नेता हुन। भीम रावललाई संयोजक मान्दैनौँ भन्नु एमाले पार्टीको विधि, विधान पनि नमान्नु हो।’ जोशीले बताए।

३. लेखराज भट्ट एमालेका नेता होइनन्।
नेकपा एमालेको विधान र निर्णय अनुसार लेखराज भट्ट एमालेको नेता होइनन्। नेकपाको गठनको औचित्य समाप्त भएपछि एमाले र माओवादी दुबै पार्टी पूर्ववतस्थितिमा पुगेको अवस्थामा भीम रावल नै प्रदेश कमिटीको संयोजक हुन्छन्। विधानले स्पष्ट देखाएको कुरा सबैले स्वीकार गरे मात्रै पार्टी बन्छ। पार्टीलाई कमजोर गर्ने काम कसैबाट पनि हुनुहुँदैन।

४. विगतका कमी कमजोरीको समिक्षा गर्नुपर्छ।
नेता जोशीले नेकपा एमालेलाई थप बलियो बनाउन सबैले विगतमा गरेका कमी कमजोरीको समिक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। हिजोको तिक्तता विर्सेर नयाँ तरिकाले पार्टीको काममा सबैले लाग्नुपर्ने भनाइ जोशीको छ। ‘लेखराज जस्तो जिम्मेवार नेताले पनि पार्टी कार्यालयमा आफ्नो नाम लेखिएको बोर्ड नराख्न भन्नुपर्दथ्यो। आग्रह पूर्वाग्रहले पार्टी बन्दैन। हिजोका कुनै पनि निर्णय बैधानिक छैनन्। हिजोका कमजोरी सच्याउदै कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउनुपर्छ। निषेधको राजनीति कसैले पनि गर्नु हुँदैन।’

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस