सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको दुहुँस्थित बथोलीखरी खानीसम्म सडक पुगेपछि खरी उत्खनन् सहज

२०७७ फाल्गुन २६, ०१:१८ नरेन्द्र कार्की

दार्चुला: दुहुँ गाउँपालिका–५ बथोलीखरी खानीसम्म सडकको पहुँच पुगेपछि खरी उत्खनन् सहज भएको छ ।

दुई वर्ष अघिदेखि खरी उत्खनन् सुरु गरेको जियो मिनिरल रिजर्भस प्रालि कञ्चनपुरले सडक नहुँदा खरी उत्खननमा समस्या झेलेको थियो । दुई साताअघि मात्रै खरी खानीसम्म सडकको पहुँच पुगेपछि अहिले खरी उत्खनन सहज भएको मिनरल रिजर्भस प्रालिका निर्देशक डाक्टर सुरज भट्टले बताए । 

विगतमा सडक नहुँदा ढुवानीमा समस्या थियो । उपकरण लिन सकिएको थिएन् । अहिले गाउँपालिकाले कालागाड सिमार कृषि सडक निर्माण गरेपछि खरी उत्खनन सहज भएको हो । यो सडकबाट खानीसम्म कम्पनीले झण्डै सात सय मिटर सडक आफैले काटेको छ । 

अहिले खानीसम्म ट्याक्टर पुग्न थालेपछि खरी ढुवानीमा सहज भएको निर्देशक भट्टको भनाइ छ ।  कोरोनापछि खरी उत्खननमा केही ढिलाइ भयो । अहिले पनि मजदूर अभावले लक्ष्य अनुसार खरी उत्खनन हुन नसकेको उनको भनाइ छ । “अहिलेसम्म एक हजार टन खरी उत्खनन गरिएको छ”, उनले भने, “मजदूर अभावले उत्खननमा ढिलाइ भएको छ ।” 

गत वर्ष कम्पनीले ४५० टन खरी भारत निकासी गरेको थियो भने एक हजार टन खरी स्वदेशमै बिक्री गरेको हो । कम्पनीले धनगढीस्थित सुपखरी ढुङ्गा बिक्री केन्द्रमा बिक्री गर्दै आएको छ । यो वर्ष मजदूर अभावले थोरै ढिलाइ हुँदै छ । स्थानीयवासीले रोजगारी पाएपनि पर्याप्त मजदूर पाउन सकेका छैनन् । 

दुहुँका स्थानीयवासी लोकेन्द्रबहादुर बमले खरी खानी उत्खननपछि दुई वर्षयता स्थानीयले यही क्षेत्रमा थोरै थोरै काम पाउन थालेका बताए । “विगतमा कामको लागि भारत जानेलाई यही क्षेत्रमा काम दिलाउन सके सहज हुन्छ”, उनले भने ।

कम्पनीले खरी उत्खननको मात्रा बढ्यो भने छिट्टै भारत निकासीको लागि प्रक्रिया थाल्ने जनाएको छ । कम्पनीले २०७४ पुस २० गतेबाट खरी उत्खननको काम थालनी गरेको थियो । विगतका विभिन्न अध्ययनले जिल्लामा सिसा, तामा, फलाम, खरीलगायत खनिजपदार्थ उत्खननको सम्भावना देखाए पनि लामो समयपछि मात्र खानी उत्खनन् सुरु भएको हो । 

अहिले यो खानीमा १० जनासम्मले दिनमा काम गर्दैछन् । यस क्षेत्रमा २०८९ पुससम्म खरी उत्खनन् गरिने छ । यहाँको  ५.८७ वर्ग किलोमिटर क्षेत्रफलमा खरी उत्खनन गरिने कम्पनीले जनाएको छ । कम्पनीले यस क्षेत्रमा खरीको सम्भावना रहेको जनाएको छ । 

यो क्षेत्रबाट १५ वर्षमा तीन लाख २० हजार टन खरी उत्खनन गर्ने योजना छ । दुहँु गाउँपालिकाले १५ वर्षमा तीन लाख २० हजार टन खरी उत्खनन् गरिने जनाएको छ ।
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस