डोटी शिक्षक मृत्यु प्रकरणः ६ दिनदेखि शव अस्पतालमै, शंकास्पद व्यक्ति पनि छुटे
धनगढीः गत बिहिबार डोटीमा मृत अवस्थामा फेला परेका शिक्षक डम्बर भट्टराइको शव ६ दिनदेखि अस्पतालमै राखिएको छ।
आफन्तले घटना शंकास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र बुझ्ने अडान राखेपछि ६ दिनदेखि मृतकको शव डडेल्धुरा अस्पतालको शव गृहमा राखिएको छ।
प्रहरीले शिक्षकको हत्या आशंकामा अनुसन्धान गरिरहेको भएपनि हालसम्म कुनै तथ्य फेला पर्न नसकेको बताएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले शव परीक्षण रिर्पोटबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको बताए।
उनकाअनुसार डडेल्धुरा अस्पतालमा गरिएको शव परीक्षण रिर्पोट कुनै कुरा उल्लेख नभएपनि अनुसन्धानमा समस्या भएको छ। यसअघि भट्टराईसँगै सोही साँझ भेटघाट गरेका उनका सहकर्मीसहित केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएपनि हाल उनीहरु छुटिसकेका छन्।
डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डको करिब ५ मिटर तल बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी अन्दाजी २७ वर्षीय शिक्षक भट्टराइको शव फेला परेको थियो। उनको हत्या भएको आशंका गर्दै आफन्तले पोष्टमार्टम रिपोर्ट नआउँदासम्म शव नबुझ्ने बताएका छन्।
मृतक डम्बरका दाई उधव भटराइले घटनाको पूर्ण अनुसन्धान नभएसम्म शव बुझ्ने बताएका छन्। मृतक शिक्षक डम्बर भट्ट विगत १० वर्षदेखि शिक्षण पेशामा आवद्ध थिए। उनी भूमीराज केदार आधारभुत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आएका थिए।