सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जाउँ है पोखरा’ अभियानबाट सुदूरपश्चिम पर्यटनलाई पाठ

२०७७ फाल्गुन २३, ०३:३७ कमल सावद

धनगढीः पोखराका पर्यटन व्यवसायीहरु ‘जाउँ है पोखरा’ भन्ने अभियानलाई तीव्रता दिएका छन्।

आन्तरिक पर्यटन प्रवद्र्धनबाटै आर्थिक विकास गर्न सकिने भन्दै उनीहरु अभियानलाई देशव्यापी बनाएका छन्। यसैबीच उनीहरु सुदूरपश्चिमको धनगढीसम्म अभियान सञ्चालन गरेका छन्। सुदूरपश्चिमको पर्यटन गन्तव्यसँग पोखराको पर्यटनलाई जोडेर पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्न सकिने भन्दै उनीहरुले यहाँको पर्यटन व्यवसायीसँग छलफल समेत थालेका हुन्।

पश्चिमाञ्चल होटल व्यवसायी संघ पोखराका अध्यक्ष विकल तुलाधरले पोखरामा विकास भएको पर्यटन व्यवसाय र पर्यटन व्यवसायका लागि आवश्यक पर्ने पूर्वाधारको बारेमा समेत सुदूरपश्चिमका पर्यटन व्यवसायीलाई सुझाव दिए।

उनले सुदूरपश्चिमको पर्यटन व्यवसाय पोखराको बराबरीमा ल्याउन भारतीय पर्यटक प्रमुख आधार भएको औंल्याए। 

उनले भने, “सुदूरपश्चिम भारतसँग जोडिएको छ। भारतका पर्यटक आउने सम्भावना बढी छ। उनीहरुका लागि आवश्यक सूचना, यातायात र भौतिक पूर्वाधार आवश्यक छ। धनगढी–पोखरा हवाई सेवा सञ्चालन भए उनीहरु पोखरा पनि जान्छन्।”

सुदूरपश्चिम र पोखराको पर्यटन प्रवर्धनमा भारतीय पर्यटन प्रमुख आधार हुन सक्ने पर्यटन व्यवसायीको साझा धारणा थियो।

सुदूरपश्चिमका सामाजिक अभियानकर्ता एवं व्यवसायी गोपाल हमालले सुदूरपश्चिमसँग सिमाना जोडिएको भारतीय बजारहरुबाट मात्रै १० प्रतिशत नागरिक सुदूरपश्चिम आए पर्यटन व्यवसाय फस्टाउन सक्ने बताए। सुदूरपश्चिममा धार्मिक पर्यटन सबैभन्दा राम्रो र अन्य पर्यटन विकासको पनि उच्च सम्भावना रहेको उनको भनाइ थियो। 

उनले भने, “सुदूरपश्चिममा पर्यटन विकासको लागि धनगढी–पोखरा हवाई सेवा आवश्यक छ। तपाइँहरुका लागि पनि सहज हुने थियो। हामीहरु पनि पोखरा घुम्न जाने थियौँ। शुक्रबार गएर शनिबार घुमेर फर्किन्थ्यौँ।”

कोरोना भाइरसको संक्रमणको त्रासले गरिएको लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको भन्दै माथि उकास्नका लागि पर्यटन व्यवसाय प्रमुख आधार हुन सक्नेमा जोड दिन्छन् होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम।

उनले भने, “लकडाउनका कारण होटल व्यवसाय मारमा छ। माथि उकास्नका लागि पर्यटक आवश्यक छन्। भारतीय पर्यटकको आगमनलाई सहज गराइनु पर्छ।”

त्यस्तै, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुप्पराज कुँवरले धनगढीबाट सुदूर पहाडका जिल्लाहरुमा हवाई सेवा सेचारु रहेका बेला धनगढी–पोखरा हवाई सेवा सुरु गरिए पोखरा र सुदूरपश्चिमको पर्यटन क्षेत्र जोडिने बताए। 

उनले भने, “धनगढीबााट पहाडी जिल्लामा नियमित उडान हुँदैछन्। धनगढी–पोखराका लागि पनि प्रयास गर्दै छौ। तपाईहरुको पनि सहयोग चाहिन्छ।”

सुदूरपश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, रामारोशन, अपी शैपाल, घोडाघोडी, बेहडाबाबा, बडिमालिकालगायतका दर्जनौं पर्यटकीय क्षेहरु रहेका छन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस