सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीटी प्रयोगशालाको नाममा प्रदेश पूर्वाधार कार्यक्रमको लाखौं बजेट बालुवामा पानी, बनेन प्रयोगशाला

२०७७ फाल्गुन २२, ०७:३८ नारायण अवस्थी

धनगढीः सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोगशालाका नाममा प्रदेश पूर्वाधार कार्यक्रमको लाखौं बजेट खर्च भएपनि लक्षित विद्यालयहरूमा अझै प्रयोगशाला स्थापना नभएको पाइएको छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को १ मा सामुदायिक विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोगशालाको नाममा प्रदेश पूर्वाधार कार्यक्रमको लाखौं बजेट खर्च गरिएको छ। तर विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएका छैनन्। 

कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ को १ बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य नेपालु चौधरीको निर्वाचन क्षेत्र अन्तरगत धनगढी उपमहानगरपालिका वडा नम्बर–१८ को चन्द्रोदय मावि र कैलारी गाउँपालिका–६ को जानकी माध्यमिक विद्यालय बनकट्टामा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोगशाला स्थापना गर्न गत आर्थिक वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर ती विद्यालयमा भने २० लाखका दरले ४० लाख रुपैयाँ मात्रै निकासा भएको बताइएको छ।

कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टा गाउँमा रहेको जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र बहादुर भण्डारीले गत आर्थिक वर्षको असारको १६ गते आईसीटी प्रयोगशाला स्थापना गर्न २० लाखको लागतमा २÷२ थान ल्यापटप र डेस्कटप कम्प्युटर खरिद गरिएको बताए। त्यस्तै ९ थान सीसीटीभी क्यामेरा, १ थान टेलिभिजन, १ थान स्मार्टफोन, २ थान प्रोजेक्टर, एक दर्जन पेन ड्राइभलगायतका विभिन्न १९ थरी सामग्री खरिद गरिएको प्रधानाध्यापक भण्डारी बताउँछन्। ती सामग्री काठमाण्डौमा रहेको मालिका इनकर्पोरेट प्रालिले हालेको बोलपत्र स्वीकृत भएबमोजिम उपलब्ध गराएको थियो।

तर विद्यालयका कक्षा कोठाहरुमा सीसीटीभी जडान गरिएको भएपनि ४ कम्युटर समेत भएको विद्यालयमा छुट्टै प्रयोगशाला भने नभएको पाइएको छ। विद्यालयका अनुसार उपकरण सप्लायर्स कम्पनीले शिक्षकहरुलाई तालिम नदिँदा उपकरण चलाउन समेत समस्या भएको बताइएको छ। सीसीटीभीले काम गरेपनि नयाँ भनेर उपलब्ध गराइएका कम्प्युटर भने निकै सुस्त भएको प्रधानाध्यापक भण्डारीको भनाइ छ।

चन्द्रोदय माध्यमिक विद्यालयमा पनि विद्यार्थीको सिकाइका लागि छुट्टै आईसीटी प्रयोगशाला स्थापना गरिएको छैन। विद्यालयका प्रधानाध्यापक शुभचन्द्र सुवेदीले विद्यालयको आवश्यकताभन्दा आपूर्तिकर्ताको इच्छा अनुसारको उपकरण आपूर्ति भएकोले कम्प्युटरलगायतका उपकरण नयाँ जस्तै भएपनि निकै सुस्त र ६ महिनामै मर्मत गर्नुपरेको गुनासो गरेका छन्। उनले काम नलाग्ने उपकरण दिएको र सम्झौता अनुसारको तालिम समेत कम्पनीले नदिएको बताएका छन्। 

यसैबीच प्रदेशसभा सदस्य नेपालु चौधरीसँग प्रतिक्रिया लिन खोज्दा उनले बोल्न चाहेनन्।

आपूर्तकर्ता कम्पनी मालिका इनकर्पोरेट काठमाण्डौका प्रतिनिधि सञ्जीव श्रेष्ठसँग यो विषयमा बुझ्न खोज्दा आफू घरायसी समस्यामा भएकोले बोल्न असमर्थ रहेको प्रतिक्रिया दिए। तर कम्प्युटरलगायतका उपकरण सप्लाइ गर्दै आएका धनगढीका व्यवसायीहरुले समेत मिलेमतो र आर्थिक चलखेल गरेर सूचना प्रविधि (आईसीटी) प्रयोगशालाका लागि कम्पनीसँग रहेका पुराना उपकरण बिक्री गर्न गराउन धनगढीमा नभएको कम्पनीबाट सामान खरिद गरिएको हुनसक्ने आरोप लगाएका छन्। तर त्यो आरोप स्वतन्त्र रूपमा पुस्टि हुन सकेको छैन। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस