सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मला पन्त हत्या प्रकरणः नयाँ कोणबाट प्रहरीले कसरी अघि बढाउँदैछ अनुसन्धान ?

२०७७ फाल्गुन १०, ११:५२ नारायण अवस्थी

धनगढी:  बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपित सार्वजनिक गरेलगत्तै नेपाल प्रहरीले अब अढाई वर्ष अगाडि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्याका दोषी पनि छिट्टै समातिने दाबी गरेको छ। 

प्रहरीको भनाइमा निर्मला पन्तको हत्यारा पत्ता लगाउन आवश्यक अनुसन्धान निरन्तर जारी रहेको छ। गत माघ २२ गते बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याको गत साता सफल अनुसन्धान गरेको नेपाल प्रहरीले निर्मला पन्तको हत्या अनुसन्धान पनि अब छिट्टै निष्कर्षमा पुग्ने बताएको थियो। 

भागरथी भट्टको बलात्कार तथा हत्या अनुसन्धानलाई धेरै नेपालीले अढाई वर्षअघिको निर्मला पन्तको अनुसन्धानसँग जोडेर हेर्ने गरेको पाइन्छ। 

माघ २२ गते बैतडीको दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथीको बलात्कार तथा हत्यामा संलग्न भनिएका आरोपितलाई प्रहरीले दुई हप्तापछि सार्वजनिक गर्न सफल भएको देखियो।

तर २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा फेला परेकी कञ्चनपुर उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्याराको अहिलेसम्म अत्तोपत्तो छैन। त्यो घटनालगत्तै प्रहरीले सार्वजनिक  गरेका एक आरोपितलाई समाजले अस्वीकार गरिदिएपछि निर्मला पन्तको हत्या अनुसन्धान तुहिन पुग्यो।

तर प्रहरीका अनुसार सबुत प्रमाण जुटाउँदै निर्मला पन्तको हत्यारा पत्ता लगाउने काम निरन्तर जारी छ।  ‘अनुसन्धान भइरहेको विषयमा सार्वजनिक रुपले भएको प्रगति बताउन मिल्दैन तर अनुसन्धानको काम भने गहन रुपले जारी छ’ कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने। 

भागरथी प्रकरणमा छोटो समयमै आरोपितलाई सार्वजनिक गर्न सफलता पाएको नेपाल प्रहरीलाई निर्मला पन्त प्रकरणलाई पनि छिट्टै निष्कर्षमा पुर्‍याउन दबाब बढीरहेको प्रस्ट छ। 

भागरथी प्रकरणमा सफल देखिएको प्रहरी संगठनले सोही प्रकृतिको निर्मला पन्त बलात्कार र हत्याको घटनामा समेत सफलता प्राप्त गरोस् भन्ने धेरैको चाहना रहेको पाइन्छ। 

त्यसैले भागरथी प्रकरण जस्तै निर्मला घटनामा पनि प्रहरी छिट्टै अन्तिम नतिजामा पुग्ने विश्वास प्रहरीको छ। दिनेशखबरको नागरिक सवालमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्तको हत्यारालाई पनि चाँडै सार्वजनिक गर्ने दाबी गरेका छन्। तर त्यसका लागि स्थानीयले प्रहरीलाई सूचना दिनुपर्ने उनको भनाई छ। 

उनले भने, ‘भागरथी भट्टको बलात्कार र हत्या घटनाको अनुसन्धानले प्रहरी संगठनलाई हौस्याएको छ। निर्मला पन्तको घटनामा पनि अनुसन्धान जारी छ। प्रहरीलाई स्थानीयले सूचना दिनु भयो भने अनुसन्धान सहज हुनेछ।’

अपराधी पत्ता लागोस् भन्ने सबैभन्दा धेरै चाहना स्वभाविक रूपमा पीडित निर्मला पन्तको आफ्नै परिवारको छ। निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले छोरीको हत्या गर्ने अपराधी पत्ता लगाउने र पीडितलाई न्याय दिलाउने दायित्व राज्यको भएको बताउँदै आफूहरू न्यायको पर्खाइमा अझै भौँतारिइरहनुपर्ने स्थिति निकै पीडादायी भएको दिनेशखबरलाई बताइन।

दुर्गादेवीले छोरीको हत्यारा पत्ता नलाग्दा आफ्नो पीडा झनै थपिएको बताउँदै आफ्नी छोरीको हत्यारा छिटो सार्वजनिक गरिनुपर्ने माग राखेकी छिन्।  

तर अपराधी पत्ता लगाउलान भन्नेमा आफ्नो आस मर्दै गएको दुर्गादेवी पन्तको दुखेसो छ। ‘मलाई छोरीको हत्यारा हो चाहिएको। त्यो हत्यारा जो सुकै होस् समातिनु पर्यो। भिआइपी नै हो हत्यारा भनेर मैले कहिले भनेकी छैन। अब त न्याय पाउने आशा पनि मरिसकेको छ’ उनले भनीन। 

निर्मला पन्त घटनाको अनुसन्धान कहिल्यै निष्कर्षमा नपुग्ने पो हो कि भन्ने आशङ्काबीच केही समयअघि संघीय सरकारका मन्त्रीहरूले नै हत्यारालाई पानीमुनि गएपनि नछोडिने र त्यो व्यक्ति वर्षौवर्षपछि पनि सार्वजनिक भइ छाड्ने अभिव्यक्ति दिएका थिए। 

अहिले बैतडीकी भागरथी भट्टको घटनाको सफल अनुसन्धानबाट हौसिएको नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला हत्यामा पनि सफलता हासिल गरेको हेर्न धेरैले व्यग्र प्रतीक्षा गरिरहेका छन्। 

तर प्रहरीले निर्मला पन्तमाथि भएको अत्याचार र अन्यायका विषयमा जुटाउने सबुत प्रमाण र उसले उभ्याउन सक्ने आरोपितबारे अहिले नै पूर्वानुमान गर्न सकिने स्थिति नरहेको बताएको छ।  

प्रहरीले निर्मला पन्त घटनाको अनुसन्धान नयाँ कोणबाट अघि बढिरहेको बताइरहेको छ। 


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस