माझीको गीत

सके त यो कर्नाली
थुनिदिने थिएँ – कैल्यै नबग्ने गरेर
अनि कहाँबाट बग्दा हुन् मेरा पसिनाका धारा
सीमा पार ! समुन्द्र पार !
पानी भन्नु त आधा मात्र हो कर्नालीमा
चौथाई बगेको हो मेरो आँशु
चौथाई बगेको हो मेरो पसिना
यी छालहरु मेरो मुटुका धड्कन हुन
यो बगर भरी छरिएका मेरै करङ्हरु हुन
बग्दो कर्नालीमा रित्तिदै गएपछि भुराहरु
बल्ल मैले पत्तो पाएको छु –
कर्नाली सँगै मेरा दरपुस्ता बगिगएको
मेरा भुरा सपनाहरु बगिगएको
मेरो डुङ्गा खिइदै गएको

आज यस्को बहावसँग चित्त दुखेको छ
गुनासो बढेको छ चार भित्ता चुरे सँग
जति जुग बिते मैले गर्वा पर्वत ढोगेको
त्यति नै जुग बिते यस्ले मेरो घाम छेकेको
न यो पग्लिन्छ मेरा दुःखको रापले
न यो ढल्छ मेरा सन्त्रासको कम्पनले ।

अझ सम्म मलाई भेऊ मिलेको छैन
सधैँ सधैँ किन नापिन्छ यी छातिको अग्लाई
किन नापिनछ मेरा नाभि र नितम्बहरु
मेरो अस्मिता उदाङ्गो पारेर
खिचिएका यी सयौँ तस्विरहरु
कहाँ लगेर लिलाम गरिन्छ
कुनै गोराहरुको देशमा
कुनै म्युजियममा राखिन्छ
या कुनै शोषकका शयन कक्षमा सजाइन्छ ?

मलाई सुर्ता बढिसकेको छ
यो घाटमा बसेर दिनहँु
मैले मात्र सुन्नुपर्छ रेडियो बासेको
मेरो दुःख, मेरो आवज सुन्दैन यस्ले
यो देशमा विधान बनेको छ रे
त्यस्को कुनै पानाको पुछारमा कतै
लेखिएको होला कि नहोला
जुग खियाएको मेरो डुङ्गाको इतिहास
खिइनै लागेको मेरो जिन्दगीको कथा ।

बास्न त बास्छ समचारमा रेडियोले
पर – पर सरकारको खबर÷ उर्दी
तर खै ! म मेरा बालाहरुलाई
सरकारको पाठशाला पठाऊँ
या कर्नालीमा डुबुल्की मार्न सिकाऊँ
उनीहरुले त भोली सबेरै
पस्नुपर्नेछ कर्नालीमा
खियाउनुपर्ने छ डुङ्गा
ओसार्नु पर्ने छ यो देशको भारी
र बिताउनुपर्ने छ मेरो जस्तो एक जुग
भेरी दोभानमा, भङ्गालाहरुमा.....
बाजेबराजुले दिएको बंशाणु आवाज
रोकिएको छैन जो मेरा गलामा
यही आवाज यही पौरख
हाम्फालेर कर्नालीमा गाउनुपर्नेछ उनीहरुले
माझीगाउँको आदिम कालको गीत –
“मै माझी तालैमा डुङ्गा बनेर
बिताउँछु जिन्दगी आश गनेर ....।”