एक राष्ट्रनिर्माता

✍️ कविता जोशी :
(शिक्षकको मौनता, पसिना र भत्कँदो भरोसा)
३७–३८ डिग्रीको गर्मी छ।
विद्यालयको जस्तापातामा सूर्यको किरण जब ठोक्किन्छ
त्यो किरणले कुनै पाठ पढाउँदैन,
सिधा पसिनाका अक्षरहरू कापीमा लेखिदिन्छ।
कतै नानीबाबुका कापीमै हावा हुन्छ,
कतै शिक्षकको किताब नै पङ्खा बनेर हल्लिन्छ।
अनि त्यो हावासँगै उड्छ एक सपना
न्यायको, सुविधाको, र सम्मानको।
शिक्षक उनी केवल “A B C D” सिकाउने पात्र होइनन्।
उनी नै त हुन् जसले 'क' भन्न सिकाएको बालक पछि सचिव, वैज्ञानिक, मन्त्री, डाक्टर बन्छ।
तर जब उही शिक्षकले आफ्ना हक, हित र अधिकारको कुरा उठाउँछन्
उनी आन्दोलनकारी ठहरिन्छन्।
उनी राजनीतिक लागिपरेका सरसर्ती घोषणा हुने पात्रमा सीमित हुन्छन्।

सिंहदरबार भित्रको चिसो व्यवस्था र विद्यालयका तताएको कक्षाकोठा
एकातिर सिंहदरबारभित्र सफा कमिज, एसी, फाइल र चिया छ
जहाँ फाइल पल्टिन्छ, निर्णय जन्मन्छ,
शिक्षकका भाग्य र नियम लेखिन्छन्,
तर ती निर्णय शिक्षकसँग कहिल्यै 'सल्लाह' गरेर बनाइँदैनन्।
उता शिक्षक?
पानीको बोतल हातमा, पसिनाले भरिएको ढाड,
१० बज्नुअघि विद्यालय पुगिसकेको अनुहार,
जहाँ ३० जोडी नानीबाबुको आँखाले उनका ओठबाट शब्दहरू टिपिरहेका हुन्छन्।

सरुवा-बढुवामा विभेदको शृङ्खला
निजामती कर्मचारीका लागि ५/५ वर्षमा बढुवा निश्चित,
सेवासुविधा फाइलमै लेखिएको,
तालिम, यातायात, आवास भत्ता सबै सुनिश्चित।
तर शिक्षक?
उनी जुन श्रेणीमा स्थायी भए,
त्यहीँबाट अवकाशसम्मको यात्रा सुरु हुन्छ
न कुनै सुनिश्चित बढुवा, न नियमित प्रोत्साहन।
प्रश्न यति छ ...?
“जुन राष्ट्र निर्माणको मेरुदण्ड भनिन्छ,
उही मेरुदण्डलाई झुकाउने नियम किन?”
शिक्षक हरेकपटक 'नयाँ शिक्षा मन्त्री'को नीतिको प्रयोगशाला?
जति मन्त्री फेरिन्छन्, उति शिक्षकको नियम फेरिन्छ।
मासिक पिच्छे नियम परिवर्तन,
एक पटक बनाइएको निर्णय अर्कोपटक उल्ट्याइन्छ।
शिक्षकको भविष्य कहिले स्थिर छैन
किनकि शिक्षक 'राजनीतिक प्रयोग'को प्रायोगशाला बनाइएको छ।
शिक्षक सरुवा प्रणाली 'सूची' होइन सिफारिसमा आधारित छ।
न कुनै मापदण्ड, न पारदर्शिता।


विश्वका दृष्टान्त, हाम्रो देशको विडम्बना
जापान, फिनल्याण्ड, दक्षिण कोरियामा शिक्षकलाई राष्ट्रनिर्माणको अग्रपंक्तिमा राखिन्छ।
जापानमा प्रधानमन्त्रीले शिक्षकलाई अभिवादन गर्छन्..
फिनल्याण्डमा शिक्षक बन्न पाउनु नै गौरवको बिषय हुन्छ।
तर नेपालमा?,तर उनीहरूलाई आन्दोलनकारी, चिउरी खाने स्कुलकाे मास्टर भनेर व्याख्या गरिन्छ।
शिक्षकलाई 'गुनासो गर्ने वर्ग', 'राजनीतिक कार्यकर्ता' भन्ने दृष्टिकोण।
उनलाई मञ्चमा 'सञ्चालन' गर्न बोलाइन्छ,
'निर्णायक' बन्न कहिल्यै दिइँदैन।
शिक्षक कहिले सरकारी गाडी चढ्दैनन्,
तर सरकारी भविष्य बोक्नुपर्ने जिम्मा उनैकै काँधमा हुन्छ।
मौन शिक्षक, चिच्याइरहेको मौनता
शिक्षक हरेक बिहान अनुशासनमा बाँधिन्छन्।
भित्रभित्रै पीडामा हुन्छन्,
तर अनुहारमा मुस्कान सजाएर कक्षामा उभिन्छन्।
जब उनी आफ्नो अधिकारको आवाज उठाउँछन्,
सरकार भन्छ
“शिक्षक त राष्ट्रका मेरुदण्ड हुन्, उहाहरुलाई त देवता सरह मानेकाे छाै , तपाईंहरु पैसाको पछि नलाग्नू।
तर मेरुदण्डलाई त अक्सिजन पनि चाहिन्छ,
केवल भाषणले मेरुदण्ड सिधा रहन्न?
शिक्षकको माग: ठूला होइनन्, तर न्यायपूर्ण छन्
उनीहरूका माग धेरै छैनन्
एउटा सम्मानित जीवन
परिवार चलाउन पर्याप्त तलब
आफ्ना बच्चालाई पनि पढाउन सक्ने हैसियत
नियमको स्थायित्व
योग्यतालाई मान्यता
सरुवा-बढुवा प्रणालीमा पारदर्शिता
उनीहरू ‘देवता’ बन्न चाहँदैनन्
‘मानव’का रूपमा पहिचान, अधिकार र व्यवहार खोज्छन्।
अब भाषण होइन नीति बनोस्, निर्णय बनोस्, र लागू होस् कागजमा मात्रै हाेईन
अब शिक्षकमाथिको भाषणले मात्र काम गर्दैन,
शब्द होइन, फाइल बन्नुपर्छ।
घोषणा होइन, नियम बन्नुपर्छ।
प्रतिज्ञा होइन, पारदर्शी प्रणाली लागू हुनुपर्छ।
किनकि जुन सचिवले शिक्षा नीति बनाउँछ,
उनीलाई पनि पहिलो अक्षर 'शिक्षक'ले नै सिकाएका थिए।
जुन डाक्टरले कसैकाे ज्यान जोगाउँछ, उसले पनि स्टेथोस्कोपभन्दा पहिले 'अ' लेख्न शिक्षकसँगै सिकेको थियो।
शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन्, तर अहिले उनीहरू ‘मेरुदण्ड झुकेका जनश्रमिक’ बनेका छन् ।
सरकार, शिक्षकलाई शीरमा राख्न नपरोस्,
कम्तिमा घामपानी मुनि बस्न ओत दिइयोस्।
तालिम दिइयोस् तर सँगसँगै सुविधा पनि।
अनुशासन मागियोस् तर अधिकार पनि।
हामीलाई भाषण हैन,
ऐन–कानुन चाहिन्छ, जसले हाम्रा हक सुनिश्चित गरोस्।
हामीलाई प्रेरणा हैन,
सम्मान र सुविधा चाहिन्छ
जसले हामीलाई राष्ट्रनिर्माता हैन, राष्ट्रमा बाँच्न सक्ने नागरिक बनाइदियोस्।
शिक्षक केवल 'पाठ' होइनन्
उनीहरू आफैं पाठशाला हुन्
संघर्ष, सहनशीलता र सयौं सपना बोकेको पाठशाला।
(लेखक जोशी शिक्षिका हुन)