सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन नजिकिँदै गर्दा धनगढीमा आचारसंहिताविपरीत टिसर्ट बिक्री

२०८२ फाल्गुन १५, ०४:२२ खबर संवाददाता

धनगढीः प्रतिनिधिसभा निर्वाचन हुन अब छ दिन मात्रै बाँकी रहँदा चुनावी प्रचारका लागि चार दिन मात्र समय बाँकी रहेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनका घटना बढ्न थालेका छन्।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको बुँदा नम्बर ४ (घ) अनुसार राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, क्याप, गम्छा, मास्क, लकेट वा अन्य सांकेतिक सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न निषेध गरिएको छ। आयोगले प्रचारलाई निश्चित सीमाभित्र राख्दै अनावश्यक खर्च र मतदातामाथि प्रभाव पार्ने सामग्री नियन्त्रण गर्न यस्तो व्यवस्था गरेको हो।

तर धनगढीका केही पसलमा उम्मेदवारको फोटो अंकित टिसर्ट खुला रूपमा बिक्री भइरहेको पाइएको छ। होली पर्व लक्षित गरी पनि उम्मेदवारको तस्वीर राखिएका टिसर्ट बजारमा राखिएको देखिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को तस्वीरसहितका टिसर्ट बिक्रीमा राखिएको भेटिएको छ। केही स्थानमा निर्वाचन चिन्हसमेत छापिएका डिजाइन सार्वजनिक रूपमा प्रदर्शन गरिएको देखिएको छ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले उम्मेदवारको फोटो अंकित टिसर्ट बिक्री, वितरण वा प्रयोग गर्न नमिल्ने स्पष्ट पारेका छन्। आचारसंहिताविपरीत सामग्री बिक्री भइरहेको पाइए अनुगमन गरी आवश्यक कारबाही गरिने उनले चेतावनी दिए।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन संयोजक किरण जोशीले पनि यस्ता गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराएकी छन्।

कमेन्ट लोड गर्नुस