सुदूरपश्चिम भ्रमण गरेर काठमाडौँ फर्किए प्रधानसेनापति
धनगढी: नेपाली सेनाका प्रधानसेनापति सुदूरपश्चिम पुगेर फर्किएका छन्। हिजो (बिहीबार) धनगढीबाट प्रधानसेनापति अशोकराज सिग्देल राजधानी फर्किएका हुन्।
उनले हिजो नै दुई वटा पृतनाको निरीक्षण गरेको बताइएको छ। सिग्देलले बिहीबार सुदूरपश्चिम पृतना र सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निरीक्षण भ्रमण गरेका थिए।
निरीक्षणका क्रममा प्रधानसेनापति सिग्देलले आफ्नो क्षेत्रमा आगामी फागुन २१ गते हुने निर्वाचन सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिएका छन्। यस्तै, प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादनगर्न पनि निर्देशन दिएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति सिग्देलले प्रदेश कमाण्ड पोस्ट तथा निर्वाचन सेलका पदाधिकारीहरुसँग पनि भेटघाट एवम् अन्तरक्रिया गरेका छन्। यसअघि प्रधानसेनापति सिग्देलले मध्य पश्चिम र पश्चिम पृतनाको निरीक्षण भ्रमण गरेका थिए।