धनगढीमा ‘पुत्र–शोक’ कृतिको लोकार्पण

धनगढी : सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२ औँ भानु जयन्तीको अवसरमा वेदान्ताचार्य साहित्यकार स्व. डमरूबल्लभ उप्रेतीद्वारा लिखित ‘पुत्र–शोक’ लोकार्पण गरिएको छ। वि.सं. १९८९ मा रचित ऐतिहासिक काव्यकृति ‘पुत्र–शोक’ को एक कार्यक्रमका बिच लोकार्पण सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि हुलाक विभाग सुदूरपश्चिम प्रदेशका निर्देशक तथा प्रमुख संस्कृतिविद साहित्यकार गोविन्दराज पाण्डेले आदिकवि भानुभक्तको योगदानले नेपाली भाषा केवल स्वदेशमा मात्र होइन, विश्वभर नेपालीहरूको गौरव बढाएको बताए। उनले स्व. उप्रेतीको यो काव्यकृति सुदूरपश्चिमेली साहित्यको गौरवशाली सम्पत्ति भएको उल्लेख गरेका छन्।

‘पुत्र–शोक’ काव्य बझाङका राजा देवीजंगबहादुर सिंहका साहिँला छोरा राजकुमार कृष्णजंगबहादुर सिंहको निधनपछि राजकीय अनुरोधमा लेखिएको मार्मिक कृति हो। यस काव्यमा संस्कृतका भर्तृहरि नीति शतक, चाणक्य नीति लगायतका धार्मिक दृष्टान्तहरूको प्रयोग गरेर वियोग शान्त पार्ने प्रयास गरिएको छ।
कार्यक्रममा समीक्षक प्राज्ञ बासुदेव पाण्डेयले “तत्कालिन समयमा सुदूरपश्चिममा लोकछन्दमा लेखन हुने गर्दथ्यो तर डमरूबल्लभ उप्रेतीले वार्णिक संस्कृत छन्दमा यो काव्य लेख्नु भएकोले उहाँको गहिरो विद्वत्ता प्रष्ट भएको उल्लेख गरे। यस कृतिको पुनःप्रकाशन साहित्यकारका नाति गणेश उप्रेतीले गरेका हुन्।
.gif)
कार्यक्रममा साहित्यकार टीआर पाठकलाई ‘यज्ञ विष्णुदास पुरस्कार’ तथा पूर्णबहादुर मल्ललाई ‘प्रतिभा श्री सम्मान’ प्रदान गरिएको थियो।


कार्यक्रमको अध्यक्षता साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले गरेका हुन भने साहित्यसमाजका महासचिव गणेश नेपालीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा वक्ताहरूमा संस्कृतिविद यज्ञराज उपाध्याय, इतिहासकार लेखक उत्तमबहादुर सिंह तथा सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद सदस्य सह–प्राध्यापक हरिकृष्ण कडायत लगायतको उपस्थिति रहेको थियो।