H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन १८, मङ्गलवार ०२:००
Mar 02 2021, Tuesday
02:00:12 AM

तरकारी खेतीले चिनिएको कञ्चनपुरको ‘बेलडाँडी’

रासस
२०७७ फाल्गुन ०१:१९
अ+

कञ्चनपुर: वन क्षेत्रले घेरिएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित ‘बेलडाँडी’ तरकारी खेती हुने गाउँमा परिचित छ।

गाउँका अधिकांश व्यक्ति बाह्रै महिना तरकारी खेती गर्छन् । तरकारी खेती गर्नेमा जनजाति समुदायका व्यक्तिको बाहुल्यता छ । जसमा महिला अग्रस्थानमा छन् । बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म यहाका बासिन्दा तरकारी बारी स्याहार्न, तरकारी टिप्न र बजारमा लगेर बेच्नछन् । खेत र बारीमा लटरम्म गोलभेँडा, काउली, ब्रोकाउली, बन्दागोभी, आलु, प्याज, लहसुन, खुर्सानीलयात तरकारी फलेका छन् । 

गाउँका बासिन्दाले तरकारी खेतीबाट कमाएको पैसाले परिवारको खर्च धान्ने गर्छन् । तरकारी खेती नहुँदा विगतमा यहाँका युवा रोजगारीका लागि भारतसँगै बाह्य मुलुकमा जाने गरेका थिए । तरकारी खेती गर्ने तौरतरिका सिकेपछि यहाँका बासिन्दाले तरकारी खेतीलाई व्यावसायिक बनाएपछि बाह्य क्षेत्रमा रोजगारीका लागि जाने युवा गाउँमै तरकारी खेतीमा परिवारसँगै संलग्न हुन थालेका छन् ।

परम्परागतरूपमा तरकारी खेती गर्दा परिवारका लागिसमेत खान पुग्दैनथ्यो । हाल खेतबारीमा उत्पादन गरेको तरकारी खेतीबाट घरका लागि मात्रै हैन स्थानीय बजारमा बेचेर स्थानीय बासिन्दाले मनग्य आम्दानी लिन थालेका छन् । दैनिक गाउँबाट १६ क्विन्टल तरकारी बजारमा बिक्री हुने गरेको छ । 

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत मनकामना आलु तरकारी ब्लक समिति गठन भएपछि यस गाउँका बासिन्दाले आधुनिक र व्यावसयिकरूपमा तरकारी खेती गर्न थालेका छन् । सबैको घरघरमा तरकारी खेतीका लागि प्लाष्टिकका टनेल बनाइएका छन् । खेत जोत्नका लागि गोरुको ठाउँमा पावर टिलरको व्यवस्था गरिएको छ । सिँचाइका लागि घरघरमा विद्युतीय मोटर र पम्पसेट जडान गरिएका छन् ।

कृषि औजार उपकरणको प्रयोग गरी व्यावसायिक तरकारी खेती हुँदै आएको छ । परियोजनाअन्तर्गत दुई वर्षदेखि निरन्तररूपमा कृषि औजार र उपकरणका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरमार्फत अनुदान रकम उपलब्ध गराइँदै आएको राधान चौधरीले बताए । बेलडाँडी गाउँका तरकारी खेतीमा संलग्नहरूको वार्षिक आम्दानी पाँच लाखदेखि १५ लाखभन्दा बढी हुने गरेको उनको भनाइ छ ।

यहाँका युवा विगतमा परिवारको खर्च चलाउनकै लागि वैदेशिक रोजगारी र मजदूरीका लागि भारतमा जाँदै आएका थिए । तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि युवा यसमै रमाउन थालेका छन् । “तरकारी खेती हुन थालेपछि वैदेशिक रोजगारीमा जान हुरुक्क हुने युवासमेत गाउँमै तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाटै सोचेजस्तो आम्दानी हुन थालेपछि विदेशिने सोच बनाएकाहरू रोकिएका छन्”, मीना चौधरीले भनिन्, “विगतमा हूल नै बाँधेर भारततर्फ जानेको लर्को नै लाग्ने गरेको थियो । त्यो तरकारी खेतीले रोकेको छ ।”

सिँचाइका लागि पम्पसेट विद्युतीय मोटर नभएकाहरूले कुलोको पानी सिँचाइ गर्न पालो मिलाउने गरिएको छ । सिँचाइको कुलोबाट पानी लगाउन विलम्ब भए धेरैले घरमै जडान गरेको विद्युतीय मोटरबाट पानी तानेर सिँचाइ गर्ने गरेका छन् । तरकारी खेतीमा संलग्न किसानको एउटै दुःखेसो छ । त्यो भनेको तरकारी उत्पादन भएपछि बेच्ने झन्झट । केही तरकारी गाउँमै हुने विवाह, भोज भतेरमा खपत हुने गरेको छ । बाँकी रहेको तरकारी बेच्नका लागि टाढाको धनगढी, अत्तरिया र महेन्द्रनगरसम्म पु¥याएर व्यापारीले तय गरेको दर रेटमै बेच्नुपर्ने हुन्छ ।

विचौलियाहरूले तरकारी बजारमै सस्तोमा तरकारीको बोली लगाई खरीद गर्ने भएकाले कुनै बेला लागतसमेत नउठ्ने भएकाले बेचेर फर्कनुपर्ने अवस्था रहेको किसानको गुनासो छ । यहाँका किसानले गाउँमै तरकारी सङ्कलन केन्द्रको व्यवस्था गरी बिक्री वितरणको व्यवस्था गरी दिन माग गरेका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यस वर्ष १० र त्यसमा किसानले १० लाख थपेर तरकारी खेतीका लागि मल्चिङ, हजारी, ग्रिननेट, सिलपोलिङ र थोपा सिँचाइको व्यवस्था गरेका छन् । किसानलाई बाह्रै महिना तरकारी खेती गर्न सहजताका लागि ३५ वटा पोलिहाउससमेत निर्माण गरिएको छ । १६ जनालाई ग्रिन नेट र २० जनालाई मल्चिङ प्रविधिको खेतीमा आबद्ध गराइएको छ । 

गत वर्ष परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको अनुदान रकम २३ लाख ७३ हजार ८५१ र स्थानीय किसानको श्रमदान २५ लाख ९० हजार ७३० गरी ५० लाख ८९ हजार ५२१ मनकामना आलु तरकारी ब्लक समितिलाई उपलब्ध गराइएको थियो । जसबाट किसानले बोरिङ, प्लाष्टिक टनेल, क्रेट, स्प्रे ट्याङ्की, सिलपोलिन, बीउबिजन, पावर टिलरलगायत खरीद गरेका थिए । ब्लकमा आबद्ध ५० जना किसान आबद्ध छन् । 

तरकारी खेतीको उत्पादन बढाउनका लागि र रोग किराको प्रकोप हुन नदिनका लागि किसानले तालीमसमेत लिएका छन् । पाँच कट्ठादेखि एक बिघा जग्गा मारी ब्लकमा आबद्ध किसानले ५० बिघा जग्गामा तरकारी खेती गरेका छन् । 

विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad