सुदूर नेपाललाई विश्वसँग जोड्दै

राज्यको प्रतिबन्धको घेराभित्र प्रणय सुत्रमा बाँधिएका ‘लाल जोडी’, १ महिना ‘हनीमून पिरियड’

२०७७ फाल्गुन २, ०९:३६ लखन चौधरी

धनगढीः दाङ गढवा गाउँपालिका ६ गढुवाकी २६ वर्षीया प्रितिमा चौधरी र बाँकेको बैजनाथ गाउँपालिका ५ जी गाउँका २७ वर्षीय राकेश दाहाल विवाह बन्धनमा बाँधिएका छन्।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामा आवद्ध ती लाल जोडी जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते जनवादी विवाह गरेका हुन्।

परिवारका सदस्यसहित कम्युनिष्ट विचारधारा तथा कम्युनिष्ट आन्दोलन हुँदै हालको विप्लव नेतृत्वको नेकपामा आवद्ध प्रितिमा र राकेशले विवाह बन्धनमा बाँधिएका छन्।

८ वर्षदेखि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामा क्रियाशिल प्रितिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काे केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन्।

भने राकेश जनयुद्धताका शहीद राजन दाहालका छोरा हुन्। उनी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाँकेका जिल्ला उपाध्यक्ष हुन्।

१ वर्षदेखिको चिनजानपछि समाज रुपान्तरणको लागि जनवादी विवाहमार्फत प्रणय सुत्रमा बाँधिएको प्रितिमाले बताइन्। 

“एकिकृत जनक्रान्तिको मर्म अनुसार समाज परिवर्तन गर्न हामीले जनवादी विवाह रोजेका हौ”, उनले दिनेशखबर सँग भनिन्, “नेपाली समाजमा पुँजीपतिकै बर्चश्व छ। जहाँ दाइजो प्रथाले जरा गाडेको छ। सर्वहारा वर्गको हितमा हालको दाइजो प्रथायुक्त विवाह संस्कार छाँदै छैन। जुनकारण जनवादी विवाह वैज्ञानिक छ। हामीले सामान्य तरिकाले विवाह गर्यौ।”

जनवादी विवाहमा कति खर्च भयो भन्ने जिज्ञासा प्रितिमाले अगाडि भनिन्,“जनयुद्ध दिवस पनि थियो। पार्टीका साथीहरु थिए। दुवै पक्षका परिवारजन गरि जम्माजम्मी ५० जनाको उपस्थिति थियो। उहाँहरुलाई एक–एक छाक खाना खुवायौ। क्रान्ति गर्न खाना त खानै पर्यो। जसमा २० हजार खर्च भयो। यो २ं० हजार पनि २० लाख खर्च गरे जस्तो भयो।”

सरकारले प्रतिबन्धित घोषणा गरेको र हाल देशमा राजनीतिक संकट चुलिएको बेला तपाईहरुको दाम्पत्य जीवन कसरी अगाडि बढ्छ ? भन्ने अर्को जिज्ञासामा उनले खुलाइन्, “पार्टीेले हामीलाई १ महिनाको लागि विदा दिएको छ। १ महिना सँगै रहने छौ। १ महिनापछि आ–आफ्नै कार्यक्षेत्रमा जान्छौ। तर कतिबेला राज्यले गिरफ्तारी गर्ने हो थाहा छैन।”

प्रितिमाको कार्यक्षेत्र दाङ हो भने राकेशको कार्यक्षेत्र बाँके हो।

३ हजार रुपैयाँमा जनवादी विवाह
कैलालीमा पनि १ जोडीले जनवादी तथा प्रगतिशिल विवाहमार्फत प्रणय सुत्रमा बाँधिएका छन्। लम्की चुहा नगरपालिका १ लम्कीका २७ वर्षीय लोकेश चलाउने र लम्की चुहा नगरपालिका ६ बाघमाराकी २२ वर्षीया रविना चौधरी पनि जनयुद्ध दिवसकै अवसर पारेर दाम्पत्य जीवन आरम्भ गरेका हुन्।

आफुहरु विप्लव पार्टीमा आवद्ध नभएपनि आस्थावान भएको कारण सोही पार्टीको कार्यक्रममार्फत विवाह बन्धनमा बाँधिएको चलाउने बताउँछन्।

चलाउने लेखा व्यवसायी हुन् भने, रविना स्वास्थ्यकर्मी हुन्। २ वर्षदेखिको चिनजानपछि घरपरिवारको सहमतिले अन्तरजातीय विवाह गरेको उनीहरु बताउँछन्। 

“म विरामी हुँदा उहाँ चिकित्सक हुँदा पलाएको प्रेम सम्बन्ध विवाहमा परिणत भयो”, चलाउनेले अगाडि भने,“हाम्रो नेपाली समाजमा विवाह संस्कार पुँजीवादी तथा धार्मिक संस्कृतिले प्रभावित छ। पुँजीपतिले तडकभडकका साथ गर्छन्। तर निम्न वर्गका मानिसलाई हाल यो संस्कृतिले नराम्ररी प्रभावित बनाएको छ। जुनकारण हामी प्रगतिशिल विवाह रोजेका हौ। यसबाट समाजले पाठ सिक्न जरुरी छ।”

जनवादी विवाह समारोहमा ३ हजार रुपैयाँ मात्रै खर्च गरेको चलाउने बताउँछन्।

उनीहरुले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा लम्की चुहा नगर कमिटी तथा जानकी गाउ्ँ कमिटीको आयोजना तथा व्यवस्थापनमा जनयुद्धका घाइते तथा आपा∙ महासंघका केन्द्रीय अध्यक्ष प्रेम बयकको रोहबरमा जनवादी तथा प्रगतिशिल विवाह गरेका हुन्।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस