सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोकिएन धनगढीको सुकुटी नाला अतिक्रमण, नाला नै व्यक्तिको नाममा !

२०७७ माघ २९, १२:२३ नारायण अवस्थी

धनगढीः गत पुष २ गते धनगढी उपमहानगरपालिका ५ माथिल्लो तारानगरस्थित सुकुटी नालामा गोदावरी नगरपालिका घर भएका कृष्ण बोगटीले बनाउन लागेको सूचना पाए लगत्तै नगरपालिकाले डोजर प्रयोग गरि घर भत्कायो। 

यो सँगै सुस्ताएको खोला नाला अतिक्रमण हटाउने अभियानले गति लिएको छनक धनगढी उपमहानगरपालिकाले दियो। तर त्यसको एक महिना नबित्दै धनगढी ५ तारानगर र हसनपुर भएर बग्ने सुकुटी नालामा उपमहानरपालिकाबाटै अनुमति लिएर खोला मिच्दै भौतिक संरचना बनाउने काम भइरहेको पाइएको छ। 

हसनपुरस्थित सुकुटी नालासँग जोडिएको जग्गामा घर निर्माण पूर्व पर्खालको जग बनाइरहेका त्रिलोकराज पनेरु भेटिए। उनले आफु जिम्मेवार नागरिक भएकोले उपमहानगरपालिकाबाट नक्शा पास गराएर नै भौतिक संरचना निर्माणको काम थालेको बताए।

‘१० वर्ष पहिले यो ठाउँमा जग्गा खरिद गरेको हँु। नाप नक्सा गरेर नै घर बनाउने तयारीमा छु। समाचार लेख्नु अगाडि नगरपालिकामा गएर बुझ्नु होला। खोलातर्फ डेढ फिट छोडेर पर्खाल लगाउँदै छु।’

पनेरुले सो जग्गाको लालपूर्जा भएको र सो जग्गा १० वर्ष अगाडि खरिद गरेको दाबी गरेका छन्। तर लालपुर्जाको बैधताबारे सम्बन्धित निकायले परीक्षण भने नगरेको पाइएको छ। 

पनेरुकै जग्गादेखि झन्डै २ सय मिटरमाथि सुकुटी नालामै हेमराज भट्ट, शशीधर भट्ट र दीर्घबहादुर ठकुरीले समेत खोलातर्फ पिल्लरसहित पक्की पर्खाल निर्माण गरिरहेको पाइएको छ। 

तर २०५४ सालमा नगर विकासबाट आफुले सो जग्गाको लालपुर्जा पाएको दाबी गर्दै  खोला अतिक्रमण गरि संरचना निर्माण गरिरहेको कुरा भने गलत भएको जिकिर दीर्घबहादुर ठकुरीले गरेका छन्।

भौतिक संरचना निर्माण गर्नेहरु मध्येकै हेमराज भट्टले पनि खोलाको जग्गा नमिचेको बताए। 

भट्टले भने, ‘मेलै जग्गा खरिद गरेर घर बनाएको हो। खोलाले घरमा क्षति नगरोस भनेर खोला तर्फ पर्खाल लगाएको हो। खोला नै मिचेर पर्खाल भने लगाएका छैनौँ।’

तारानगरकै स्थानीय कुवेर शाहीले समेत नालाको बहाब रोकिने गरि संरचना निर्माण गरेको स्थानीयले गुनासो गरेका छन्। तर वर्षातमा आउने बाढीका कारण घर जोखिममा परेकाले खोलातर्फ डेढ मिटर छोडेर पर्खाल लगाइरहेको दाबी शाहीको छ।

‘खोलाको भाग मासिएको भए कानुन अनुसार आफु छोड्न तयार छु।’ शाहीले भने।

नगर क्षेत्रमा निरन्तर रुपमा खोलानाला अतिक्रमण भइरहदा अतिक्रमण हटाउ अभियान नै सञ्चालन गर्न डम्फु बजाएको उपमहानगरपालिका भने रेडीमेट जवाफ  दिएर पन्छिरहेको छ। 

उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले कर्मचारी र अन्य नीतिगत हिसाबले चाहे जसरी काम गर्न नसकेको बताए। उनले भने, ‘अतिक्रमण भने जसरी पनि हटाइन्छ।’

तर जनप्रतिनिधि निर्वाचित भएर आएपछि गरेको अतिक्रमण हटाउने निर्णय झण्डै साढे ३ वर्ष बित्दा समेत कागजमै सीमित भएको छ। 

धनगढी उपमहानगरपालिकाले अतिक्रमण हटाउछु भने पनि नगर क्षेत्रमा भइरहेको खोलानाला अतिक्रमण नरोकिएको गुनासो गरिएको छ। अभियान नै सञ्चालन गरि खोला नाला अतिक्रमण हटाउने निर्णय गरेको उपमहानगरपालिकाको वेवास्ताका कारण दैनिकजसो अतिक्रमण भइरहेको पाइएको छ। 

उपमहानगरपालिकाले सुकुटी खोलाको प्राविधिक नापजाँच गरेको प्रतिवेदन पनि विगत २ वर्षदेखि दराजमै थन्क्याएको छ। जनप्रतिनिधि निकटका व्यक्ति र उपमहानगरपालिकाका कर्मचारीहरु नै अतिक्रमणकारीको सूचीमा परेपछि अतिक्रमण हटाउन नसकेको बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस