सरकारी असंवेदनशीलताले प्राकृतिक प्रकोपले ९ वर्षयता ३ हजार बढीको मृत्यु
धनगढीः जोखिम संवेदनशीलता भूउपयोग तथा विकास योजनाबारे तीनै तहका सरकार संवेदनशील हुन नसक्दा हरेक वर्ष सुदूरपश्चिम प्रदेशसहित देशभर प्राकृतिक तथा दैवी प्रकोपका घटना बढेको बताइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै धनगढीमा प्रदेश स्तरीय भेला गरि संघ, प्रदेश र स्थानीय तहको सरकारले एकिकृत हिसाबले नीति, योजना र कार्यक्रम ल्याउन नसक्दा ठूलो धनजनको क्षति भएको बताएको छ। विपद् जोखिम न्यूनीकरण गर्न संयुक्त प्रयास गर्नुपर्ने समेत औल्याएको छ।
प्राधिकरणका उपसचिव बेदनिधि खनालले विपद्ले अकल्पनीय क्षति निम्त्याउँदै आएकोले जोखिम अगावै प्रयाप्त तयारी गर्नसक्नु पर्ने बताउँछन्।
‘विपद् न्यूनीकरण गर्न कुनै एक पालिका, मेयर या मन्त्रीको प्रयास मात्रै प्रयाप्त नहुने भएकाले सबैले सामूहिक रुपले योजना बनाउने र कार्यान्वयन गरे सकारात्मक नतिजा पाउन सकिन्छ’ खनालले बताए।
सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरु बिभिन्न खाले विपद्का दृष्टिकोणले निकै जोखिम अवस्थामा रहेको बताइएको छ।
प्रदेशका सबै जसो जिल्ला भूकम्प, बाढी पहिरो, आगलागी, हावाहुरी, चट्याङ जस्ता घटनाको उच्च जोखिम रहेकोले विपद् व्यवस्थापनको ठोस योजना सरकारी र सामुदायिक स्तरमा हुनुपर्ने आवश्यकता औल्याउछन् प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेल।
प्रदेशका ९ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका जनप्रतिनिधिकहरुको सहभागिता रहेको कार्यक्रममा भने स्थानीय तहका जनप्रतिनिधिले संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहको सरकारसँग सल्लाह र समन्वय नगरी बिकास योजना पठाउने गरेको प्रति असन्तुष्टि पोखेका छन्।
शैल्यशिखर नगरपालिका दार्चुलाका नगरप्रमुख अमरसिंह धामीले भने, ‘संघ र प्रदेशले स्थानीय तहमा योजना पठाउदा र ती योजनाको स्थानीय तहहरुले अनुगमन गर्न नपाउदा जथाभावी काम हुने गरेको कारण विपद्को जोखिम झन बढेको छ। तसर्थ योजना छनौट र कार्यान्वयन गर्न समेत तीनै तहको सरकारबिच सहकार्य हुन जरुरी छ।’
बिगत केही वर्षदेखि जथाभावी हुने विकास निर्माण कार्यका कारण विपद्का जोखिम बढेको बताइएको छ।
प्राधिकरणको तथ्यांक अनुसार सुदूरपश्चिमसहित मुलुकभर पछिल्लो ९ वर्षयता आगलागीबाट ६१२, बाढी पहिरोबाट १६५६, चट्टयांगबाट ९२९, शितलहरबाट ११६, र हावाहुरीबाट ७५ गरि ३ हजार ३८८ जनाको मृत्युु भएको छ। भने लाखौ प्रभावित भएको तथ्यांकमा उल्लेख छ।