सुदूरपश्चिममा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान पुरा, दोस्रो चरणको लागि तथ्यांक संकलन हुने
धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान शनिबार सकिएको छ।
पहिलो चरणमा सुदूरपश्चिमका लागि ३६ हजार खोप उपलब्ध भएकोमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, महिला स्वस्थ्य स्वयम्सेविका, एम्बुलेन्स र शव बाहन चालक, बृद्धाश्रममा बस्ने व्यक्ति, कैदीबन्दी र तिनको सुरक्षामा खटिएका सुरक्षकर्मीलाई खोप दिने कार्य सकिएको हो।
पहिलो चरणमा खोप दिन प्रदेशभर १६ हजार २९३ जनाको सूची तयार गरिएको थियो। जस अनुसार खोप दिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशभर १३ खोप केन्द्रमार्फत शुक्रबारसम्म १४ हजार ८५५ जनालाई खोप दिइएको छ’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने।
पहिलो चरणको पहिलो खोप अभियान सकिएसँगै दोस्रो चरणको खोप अभियानका लागि तथ्यांक संकलन गरिने कार्य सुरु गरिने भएको छ।
प्रवक्ता कार्कीले दिनेशखबरसँग भने, ‘दोस्रो चरणका लागि कति मात्रामा खोप पाउने भन्ने एकिन संघीय सरकारले अझै नगराएको भएपनि अग्रपंक्तिमा खटिने प्रहरी, सेना, सशस्त्र प्रहरी, नगर प्रहरी, यातायातकर्मी, सार्वजनिक सवारी चालक, सहचालक, अत्यधिक भिडभाड हुने कार्यालयहरु जस्तै मालपोत, नापी, यातायात, विद्युत, खानेपानी, बैंक र सञ्चार गृहमा कार्यरत कर्मचारीलाई खोप लगाउने सरकारको तयारी छ।’
हालसम्म नेपालले भारतबाट १० लाख, चीनबाट ५ लाख र कोभ्याक्सबाट २२ लाख गरि ३७ लाख खोप अनुदानमा प्राप्त गरेको छ।
पहिलो चरणमा कोरोना विरुद्धको ३६ हजार कोभिसिल्ड खोप सुदूपश्चिम प्रदेशमा पठाइएको थियो।