बैतडीमा मृत भेटिएकी किशोरीको दोषी पत्ता लगाई कारवाही गर्न राष्ट्रिय जनमोर्चा कैलालीको माग
धनगढी : राष्ट्रिय जनमोर्चा कैलालीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नको खोजी गरि कारवाही गर्न माग गरेको छ।
शुक्रबार जनमोर्चाले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषिलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने माग गरेको हो । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीका अध्यक्ष नन्दराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा कञ्चनपुरकी निर्मला पन्तको अपराधिलाई सरकारले अहिलेसम्म पत्ता लगाउन नसकेको र भागरथीको घटना पनि निर्मलाकै जस्तो हुनसक्ने भन्दै शंका व्यक्त गरिएको छ ।
विज्ञप्ति मार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै समबेदना समेत प्रकट गरिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की भट्ट बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन् । उनको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो । भट्टको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।