सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड–नेपाल खेमाका मन्त्रीदेखि वडा सदस्यसम्म, जसले आफ्नै अड्डा बन्द गराए

२०७७ माघ २२, ०७:१० लखन चौधरी

धनगढीः यसअघि नेपाल बन्द तथा आमहड्तालका क्रममा सरकारी कार्यालयको सेवा बिरलै प्रभावित हुन्थे। कडा सुरक्षाकाबीच पनि सञ्चालन हुन्थे। तर विहिबार नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दको क्रममा सरकारी सेवा नै प्रभावित भए।

सरकारी अड्डाका प्रमुख नै आन्दोलनकारी एंव बन्दकर्ताको भुमिकामा देखिएपछि उनीहरुको नेतृत्व रहेको सरकारी अड्डा अघोषित रुपमा ठप्प भए। सुनसान रहे। 

खासगरि सुदूरपशिचम प्रदेशमा नेकपा प्रचण्ड–नेपाल समूह निकटकै मन्त्रीदेखि वडा सदस्यसम्म, जो विहिबारको बन्दको क्रममा आफ्नो अड्डामा गएनन्। बन्दको समर्थन भन्दै उनीहरु आफ्नो कार्यकक्ष छोडेर कोही सडकमा उत्रिएर बजार बन्द गराउन तल्लिन थिए। भने कोही घरायसी काममा व्यस्त रहेको बताएका छन्।

केही दिनदेखि संघीय राजधानी काठमाडौंमै रहेका मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बजार बन्द गराउन निस्किएका थिए।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कार्यकक्ष छोडेर बन्दकर्ता तथा आन्दोलनकारीको भुमिका निर्वाह गरे। उनले दिनेशखबर सँग भने, ‘आजको नेपाल बन्द सफल भयो। आजको अधिकांश समय सडकमै बित्यो। बन्दमा सहयोग गरेका सबैलाई धन्यवाद दिन चाहान्छौ।’

मन्त्री मात्रै होइनन्, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु बन्दलाई सहयोग गर्ने भन्दै कार्यकक्षमा समेत प्रवेश गरेनन्। कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले भने, ‘भित्र–भित्र खुला थियो। तर सेवाग्राहीको काम भएन। म पनि बाहिरै थिए आज।’

कैलालीको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरी पनि विहिबार आफ्नो प्रवेश गरेनन्। उनले खुलेरै भने, ‘बन्दलाई सहयोग गर्नैपर्यो नि ? यो बन्द प्रतिगमनको विरुद्ध हो।’

अध्यक्ष चौधरी र मेयर चौधरी नेकपा प्रचण्ड–माधव समूह निकटका जनप्रतिनिधि हुन्।

तर नेकपा ओली समूहका केन्द्रीय सदस्य समेत रहेका कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले कार्यालयको कामकाज प्रभावित नभएको दाबी गरे।

प्रतिनिधि सभा विघटनपछि विभाजित भएको प्रचण्ड–नेपाल समूहले चरणबद्ध आन्दोलनको कार्यक्रम जारी राखेको छ। यसैबीच सो समूह निकटका सांसदहरु पनि विहिबार बजार बन्द गराउँदै हिडेका थिए।

नेपाल बन्दले शिक्षण संस्था, यातायातका साधन, कलकरखाना चल्न पाएनन्। जनजीवन कष्टकर बने। यात्रुहरु गन्तव्यमा पुग्न पाएनन्। 
 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस