हत्कडीसहित भागेका व्यक्ति धनगढीबाट पक्राउ
धनगढी: कैलालीमा पक्राउपछि हत्कडीसहित भागेका एक व्यक्ति पुनः पक्राउ परेका छन्।
गत शनिबार जिल्लाको जोशीपुर गाउँपालिका–७ का २७ वर्षीय सुरेन्द्र शाहीलाई सोही गाउँपालिकाको वडा नम्बर ३ मनकापुरबाट १.३५० ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको थियो।
पक्राउपछि ईलाका प्रहरी कार्यालय जोशीपुरबाट भजनी लैजाने क्रममा लक्कडबाट राति साढे ९ बजे उनी हत्कडीसहित फरार भएका थिए।
फरार शाहीको खोजी गर्ने क्रममा उनलाई मंगलबार बिहान १० बजेतिर धनगढी उपमहानगरपालिका–१ पार्कमोडस्थित वनदेवी मन्दिर नजिकबाट पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
पक्राउ परेका सुरेन्द्र शाहीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।