सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिद्धि–सिद्धि पार्टी प्यालेस झडप: ‘म पीडित हुँ, शक्तिको दुरुपयोग भयो’-भरत बोहरा

२०८३ असार ४, १२:४१ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश महाधिवेशनका क्रममा धनगढीस्थित रिद्धि–सिद्धि पार्टी प्यालेसमा भएको झडपबारे नेता भरतबहादुर बोहराले आफू पीडित भएको दाबी गर्दै घटनाको पृष्ठभूमि सार्वजनिक गरेका छन्।

बोहराका अनुसार असार १ गते प्रदेश महाधिवेशनकै क्रममा रास्वपा नेता शैलेशकुमार सिंह र उनका समर्थकहरूसँग आफू तथा आफ्ना साथीसँग विवाद भई झडप भएको हो। यो घटना तत्काल उत्पन्न नभई गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछिदेखि विकसित हुँदै आएको विवादको परिणाम भएको उनको भनाइ छ।

उनले निर्वाचनका बेला बझाङको बुंगल नगरपालिकाको चुनावी संयोजकको जिम्मेवारी पाएको र व्यक्तिगत व्यवसायिक काम थाती राखी तन, मन र समयका साथै आफ्नै रकम खर्चेर अभियान सञ्चालन गरेको बताएका छन्। आफ्नो जिम्मेवारीअन्तर्गत खर्च भएको ६–७ लाख रुपैयाँको सम्पूर्ण हिसाब–किताब र प्रमाण सुरक्षित रहेको पनि उनले स्पष्ट पारेका छन्।

निर्वाचनपछि शैलेशकुमार सिंहले सार्वजनिक स्थलमै आफूले पैसा खाएको आरोप लगाउँदै आएको र त्यसकै कारण मानसिक दबाब र चरित्रहत्या भएको धामीको आरोप छ। खर्चको सम्पूर्ण विवरण देखाउन र चेकमार्फत रकम फिर्ता गर्नसमेत तयार रहेको बताउँदा पनि सिंहबाट गालीगलौज र अपमानजनक अभिव्यक्ति आएको उनको भनाइ छ।

बोहराका अनुसार आफूलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न नदिन पालिका र जिल्ला तहसम्म दबाब सिर्जना गरिएको थियो। यही विषयमा छलफल भइरहँदा अधिवेशनस्थलमै सिंहबाट पहिलोपटक हातपात भएपछि झडपको स्थिति सिर्जना भएको उनले बताएका छन्। घटनामा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन् भने आफू पनि चोटग्रस्त भई उपचाररत रहेको धामीले जनाएका छन्।

घटनापछि गम्भीर घाइते भएका गोविन्द धामीलाई हिरासतमा राखिएको तर शैलेशकुमार सिंहलाई प्रहरीले बाटोबाटै छोडेको भन्दै उनले यसलाई सत्ता र शक्तिको दुरुपयोगको संज्ञा दिएका छन्। आफूले कसैको पैसा वा कुनै सामान नलिएको र चुनावताका एक पैसा पनि नखाएको दाबी गर्दै उनले आत्मरक्षा मात्र गरेको बताएका छन्।

बोहराले केही दिनभित्र न्यायको माग गर्दै अदालत जाने तयारी रहेको उल्लेख गर्दै सत्य र न्यायप्रति पूर्ण विश्वास रहेको बताएका छन्। साथै, यस घटनामा मिडिया ट्रायलका कारण भ्रम सिर्जना भई साथीभाइ, शुभेच्छुक र पार्टीलाई क्षति पुगेको भन्दै उनले दुःख व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस