दार्चुलाको गोकुलेश्वर अस्पतालले विरामी ठगेको आरोप
धनगढीः दार्चुला जिल्लाको शैलेशिखर नगरपालिका ९ गोकुलेश्वरका २४ वर्षीय हर्क धामीको माघ १६ गते पेट दुखेपछि गोकुलेश्वर अस्पताल पुगे।
अस्पतालका डाक्टर मियाज अन्सारीले उनको पेटको भिडियो एक्सरे गरे। डाक्टर अन्सारीले दुबै मृर्गौलामा पानी जमेको र सुजन भएकोले तुरुन्त अप्रेसनको लागि अन्यत्र जान भनेपछि धामी र उनको परिवारको होस उड्यो।
धामीले भने, ‘डाक्टरले मृगौरा खराब भएको र तुरुन्त अप्रेसन गर्न भनेपछि हामी त साह्रै तनाबमा भयौ। पैसा पनि थिएन, ऋण सापटी गरेर धनगढीसम्म आए।’
डाक्टरले नै अप्रेसन गर्नुपर्ने भनेपछि अत्तालिएका धामी रातारात धनगढी पुगेको बताउँछन्।
उपचारको लागि काठमाडौं नै जानुपर्छ भनेर उनी ४ वटा प्लेनको टिकट पनि लिए।
काठमाडौं जानुभन्दा पहिले उनले धनगढीस्थित माया मेट्रो अस्पतालमा जाँच गराए।
माया मेट्रो अस्पतालका रेडियोलोजिस्ट र सर्जन डाक्टर विनायक तिमिल्सिेनाको उपचारपछि उनको पेटमा ग्यास्ट्रिक समस्या देखियो। तर मृर्गौलामा कुनै समस्या नदेखिएको बताएपछि उनको होस ठेगानमा आयो।
उनले भने, ‘डाक्टरहरुले दुई थरी समस्या बताएपछि धेरै अन्योलमा थिए। धनगढीमा होटलमै बसियो।’
डाक्टर तिमिल्सिनाले भने अनुसारको ग्यास्ट्रिकको औषधी ३ दिन सेवनपछि हाल आफ्नो स्वास्थ्य अवस्थामा सामान्य भएको र दार्चुला फर्किरहेको धामी बताउँछन्।
तर स्वास्थ्य अवस्था सामान्य भए पनि धामीले अनाहकमा दुःख दिएको दुखेसो सुनाएका छन्।
उनले भने, ‘डाक्टरलाई हामी भगवान मान्छौ। तर त्यही डाक्टरले झुक्याउँछ। दुःख दिने कार्य गर्छन् भने कसरी विश्वास गर्ने?’
धामीले ३ दिनको उपचारको क्रममा करिब ६० हजार बढी खर्च गरेको बताउँछन्।
विरामीको हितको लागि रेफर
उता गोकुलेश्वरका डाक्टर अन्सारीले विरामीको लक्षण हेरेर केही औषधी र थप उपचारको लागि सुविधायुक्त अस्पताल जानको लागि सल्लाह दिएको बताउँछन्। दुर्गम पहाडी जिल्लाका अस्पताल उसै पनि जनशक्ति र साधन स्रोतको हिसाबले पनि सम्पन्न नभएको, विरामीको पेट दुखाइ नियन्त्रणमा नआएपछि, भिडियो एक्सरे रिपोर्टमा देखिएको जटिलता र विरामीको यसअघि नै एपेन्डिसाइटिसको अप्रेसन समेत गराएकोले सुविधा युक्त स्थानमा उपचारको लागि जान सल्लाह दिएको डाक्टर अन्सारी बताउँछन्।
उनले भने, ‘म विशेषज्ञ पनि होइन, एमबीबीएस डाक्टर हो। म र मेरो टिमका सदस्यले विरामीको स्वास्थ्य अवस्था सुधारमा ल्याउन धेरै प्रयत्न गर्यो। यहाँ विशेषज्ञ सेवा पनि छैन। उहाँको अवस्थामा सुधार नभएपछि रेफर गरियो। त्यो विरामीको हितको लागि नै हो।’