कैलालीका स्थानीय तहलाई सरकारको मतियार नबन्न अनेरास्ववियूको आग्रह
धनगढी: प्रतिनिधी सभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत प्रचण्ड–नेपाल समूह निकटको अनेरास्ववियूले कैलालीका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएका छन्।
प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाइएको अनेरास्ववियू कैलालीका सहसंयोजक समीर जोशीले बताए। अनेरास्ववियूको केन्द्रिय सर्कुलर बमोजिम कैलालीका स्थानीय तहमा पनि ज्ञापनपत्र बुझाइएको उनले बताए।
उक्त ज्ञापन पत्रमा लेखिएको छ, ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने दिने गरी पञ्चर्याली आयोजना गर्न थालेको छ। यस्ता र्यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं। विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पुग्ने कुनै कार्य नगर्न हामी चेतावनी दिन चाहन्छौं।’
प्रचण्ड–माधव समूह संसद् विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनमा छ। सोही चरणको कार्यक्रम अन्तर्गत सोमबार कैलालीका स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाइएको बताइएको छ।