सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोना कहरपछिको ६ महिनामा १७ सय घरेलु उद्योग दर्ता

२०७७ माघ १६, ०७:०८ विन्दु चन्द

धनगढीः रोजगारीको सिलसिलामा मलेसियामा रहेका कैलालीको टीकापुरका राजकुमार तामाङ कोरोना कहरपछि मात्रै स्वदेश फर्किएका थिए। 

३ महिना अघि स्वदेश फर्किएका तामाङ बुधबार घरेलु तथा साना उद्योग कार्यालयमा कृषि फार्म दर्ता गर्न पुगेका थिए। 

अब स्वदेशमै स्वरोजगार मुलक व्यवसाय गर्ने उद्देश्य राखेर नै उद्योग दर्ता गर्न पुगेको उनको भनाई थियो।

तामाङ जस्तै घरेलु तथा साना उद्योग कार्यालयमा घरेलु उद्योग दर्ताका लागि अधिकांश युवाहरु पुग्ने गरेका छन्। अहिले दैनिक ४०/५० वटा फार्महरु दर्ता हुने गरेकोमा अधिकांश कोरोना कहरबाट प्रभावित भइ स्वदेश फर्किएका व्यक्ति रहेको बताइन्छ। 

कोरोना महामारीपछि मात्र कैलालीमा १ हजार ७ सय ४८ घरेलु उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय धनगढीका प्रमुख  नवराज भट्टल बताए। 

जबकी गत आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा ११ सय १४ उद्योग मात्र दर्ता भएको थिए भने अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १२ सय ३४ उद्योग दर्ता भएको उनले बताए। 

जिल्लाभर हालसम्म १० हजार ३४ वटा उद्योग दर्ता भएकोमा चालु वर्षको ६ महिनाको दर्ता हुने दर भने अहिलेसम्मकै उच्च हो। 

दर्ता भएका मध्ये ९९ प्रतिशत उद्योग सञ्चालनमा हुँदा त्यसबाट करिब ६५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको दाबी उद्योग कार्यालयका प्रमुख भट्टको छ। 

दर्ता भएका कृषि, पर्यटन, सेवामुलक उद्योग राम्रोसँग सञ्चालन भए जिल्लामा थप रोजगारीका अवसर सिर्जना भई विदेश धाउनुपर्ने बाध्यता केही हदसम्म कम गर्न सकिने विश्वास गरिएको छ। 

तर सरकारी अनुदान हत्याउनका लागि मात्रै उद्योग दर्ता गर्ने गलत प्रवृत्तिका कारण उद्योगलाई उत्पादनसँग जोड्ने चुनौतीपूर्ण हुने गरेको अनुभव कतिपय व्यक्तिहरु सुनाउने गरेका छन्।   

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस