सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाको लक्षित वर्ग कार्यक्रम ‘कार्यकर्ता लक्षित’, फोन गरेर लाभग्राही छनोट

२०७७ माघ १०, ०२:१७ विन्दु चन्द

धनगढी: धनगढी उपमहानगरपालिकाले चालु वर्षमा लक्षित वर्गका विभिन्न कार्याक्रमहरु कार्यान्वयन गरेको छ। सोही अन्तरगत गत पुसमा वडा नम्बर २, ४, ५, १० र ११ मा सेनेटरी प्याड निर्माण सम्बन्धी २० महिलालाई तालिम दिएको छ। पुसमै वडा नम्बर ३ र ४ बाहेक सबै वडाका २५ जना महिलाहरुलाई ग्यास चुलो र प्रेसर कुकर मर्मत सम्बन्धी तालिम प्रदान गरेको छ।

उपमहानगरपालिकाले यी २ वटै कार्यक्रममा ४ लाख ६० हजार बजेट खर्च गरेको छ। तालिममा सहभागी को थिए ? भन्नेबारे वडा कार्यालयहरुलाई जानकारी समेत नभएको खुलेको छ।  धनगढी उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयमा पनि तालिम सञ्चालन गरिएकोमा कार्यालयले भने थाहा नभएको र उक्त कार्यक्रममा आफ्नो वडाबाट कोही पनि सहभागी नभएको जनाएको छ।

तर धनगढी उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख महिला विकास अधिकृत सीता कुमारी केसीले भने लाभग्राही छनोट गर्दा वडा कार्यालयहरुसँग समन्वय गरिएको दाबी गरेकी छन्। उनले सबै वडामा पत्रमार्फत र फोनमार्फत जानकारी गराउँदै लाभग्राही छनोट गर्न निर्देशन गर्दै सोही अनुसार कार्यक्रम कार्यान्वयन गरिएको बताइन्।

तर जनप्रतिनिधिहरुको सिफारिसका आधारमा प्राथमिकता क्रम समेत निर्धारण नगरेर लक्षित वर्गका कार्यक्रम कार्यान्वयन गरि बजेट खर्च गरिएको आरोप लागेको छ।

विगतमा पनि कार्यकर्ता खुसी पार्ने मेसो बनेको लक्षित वर्गका कार्यक्रम चालु वर्षमा समेत त्यसरी नै कार्यान्वयन गरिएका छन्।

यस्तै वडा कार्यालयबाट एउटा कार्यक्रमका लागि सिफारिस गरिएका लाभग्राहीलाई प्राथमिकता क्रम नै नहेरी अर्कै कार्यक्रममा समावेश गरिएको पाइएको छ। तालिममा सहभागी धनगढी उपमहानगरपालिका ४ की खेमा पन्तले आफुले सो तालिम नभएर द्वन्द्वपीडित तथा महिला हिंसा सम्बन्धी गरिएको तालिममा सहभागी भएको बताइन्।

लक्षित वर्गका कार्यक्रम कार्यान्वयन गर्दा त्यसले दिने प्रतिफलको कुनै लेखाजोखा नराखेको उपमहानगरपालिकाले चालु वर्षमा समेत हचुवाका भरमा कार्यान्वयन गरेपछि ठूलो बजेट दुरुपयोग भएको आशंका गरिएको छ। तर केही कार्यक्रम भने मध्यावधि निर्वाचनका कारण प्रभावित भएको बताइएको छ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस