डडेल्धुराका ५ जना व्यापारीविरुद्ध जिल्ला अदालतमा मुद्धा
डडेल्धुरा: खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले ५ जना व्यापारीविरुद्ध डडेल्धुरा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ।
सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर पार्ने खालका खाद्य पदार्थ बिक्री गरेको भन्दै उनीहरूविरुद्ध मुद्धा दर्ता गरिएको हो।
खाद्य ऐन, २०२३ अनुसार अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयको राय अनुसार मुद्दा दायर गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका प्रमुख गणेशदत्त जोशीले बताए।
प्रमुख जोशीका अनुसार अमरगढी नगरपालिका–५ बागबजारस्थित निर्मला खुद्रा किराना पसललाई न्यूनगुणस्तरिय चनाको दाल बिक्री गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। अमरगढी–५ बागबजारकै मदन प्रकाश किराना पसललाई न्यून गुणस्तरीय गहत गेडा बिक्री वितरण गरेको अभियोगमा मुद्धा दायर गरिएको छ।
यस्तै अमरगढी–५ बगरकोट रोडस्थित भागेश्वर स्टोरलाई न्यूनगुणस्तरिय खाद्य पदार्थ धनिया गेडा बिक्री वितरण गरेको अभियोगमा, अमरगढी–४, खलंगास्थित रावल किराना पसललाई न्यूनगुणस्तरिय खाद्य पदार्थ चामल बिक्री र अमरगढी–५ बागबजारस्थित ओम बाबा स्टोरलाई न्यून गुणस्तरीय खाद्य पदार्थ मटर गेडा बिक्री वितरण गरेको अभियोगमा मुद्दा दायर गरिएको उनले बताए।
खाद्य ऐनमा दूषित वा न्यून गुणस्तरको खाद्य पदार्थ बिक्री वितरण गरेमा वा ढाँटी वा झुक्यानमा पारी खाद्य पदार्थको स्वाभाविक गुण कमसल भएको खाद्य पदार्थ बिक्री वितरण गर्नेलाई ५ वर्षसम्म कैद वा ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको प्रमुख भट्टले बताए।