धनगढीकाे कैलाली सामुदायिक वनमा काठ चोरी तस्करी मौलायो, स्थानीयबीच आरोप प्रत्यारोप
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली सामुदायिक वनमा काठको चोरी तस्करी मौलाएको छ।
उपभोक्ता समितिका पदाधिकारी समेतको मिलेमतोमा विगत केही समययता वन क्षेत्रमा जथाभावी रुख काटेर चोरी तस्करी हुने क्रम बढेको स्थानीयले बताएका छन्।
सामुदायिक वनका उपभोक्ता हरिश बोहराले वनमा जथाभावी रुख कटानी भएको तर काठ भने घाटगद्दीमा नहुँदा तस्करीमा समितिका पदाधिकारीको समेत मिलेमतो हुन सक्ने आशंका व्यक्त गरे।
उनले भने, ‘सामुदायिक वनमा धेरै रुख काटेर लगेको देखिन्छ तर सो काठ उपभोक्ता समितिको घाटगद्दीमा समेत छैन। उपभोक्ता समितिको मिलेमतोमा नै तस्करी गर्ने समुहले रुख काट्ने गरेका छन्।’
स्थानीयले खबरदारी गर्दा समेत उपभोक्ता समिति र वन कार्यालयलगायत सरोकारवाला निकायले वन फँडानी र काठ तस्करी नियन्त्रणतर्फ ध्यान नदिएको समेत बोहराको भनाइ छ।
कैलाली समुदायिक वनका अध्यक्ष कमलबहादुर बोहराले सामुदायिक वनमा रुख काटिएको र रातमा हुने चोरी तस्करी रोक्न नसकेको स्वीकार गरेका छन। अध्यक्ष बोहराले वनमा तस्करी भयो भन्ने समुहले नै वन संसक्षणमा आफूहरुलाई अवरोध गरिरहेको दाबी गरेका छन्।
उनले भने, ‘वन फँडानीमा आफ्नो संलग्नता पुष्टि भएमा झुण्डिएर तयार छु। तर राति हुने गरेको तस्करी भने रोक्न सकिएको छैन। रोक्ने प्रयास गर्दा समेत संघातिक आक्रमण भएको छ।’
झण्डै ४८ हेक्टर क्षेत्रमा फैलिएको धनगढी उपमहानगरपालिका–१३ को कैलाली सामुदायिक वनमा दर्जनौ रुख काटेको पाइएको छ। नजिकै अस्थायी प्रहरी चौकी रहेको भएपनि सो वनमा रुखको जरा समेत निकालेर रुख काटेको प्रमाण नै नष्ट गर्न खोजेको स्थानीयको भनाइ छ।
डिभिजन वन कार्यालय धनगढी र सव डिभिजन वन कार्यालय नजिकै रहेको कैलाली सामुदायिक वनमा खुलेआम भइरहेको वन फँडानी र तस्करी नियन्त्रणमा ती निकायका अधिकारीले समेत वेवास्ता गरेको गुनासो स्थानीयको छ।
तर डिभिजन वन कार्यालय धनगढीले भने जथाभावी काठ काटिएको विषयमा अनुसन्धान गरिने जनाएको छ।
डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत रामचन्द्र कँडेलले भने, ‘ कैलाली सामुदायिक वनको विषयमा अनुसन्धान र कारवाही तुरुन्तै सुरु हुन्छ।’
कैलाली सामुदायिक वनमा मात्रै होइन, पछिल्लो समय जिल्लाका अन्य वन क्षेत्रमा पनि काठ तथा वन्यजस्तुको चोेरी सिकार तथा तस्करी हुँदैआएको संरक्षणकर्मीहरु बताउँछन्।