सुदूर नेपाललाई विश्वसँग जोड्दै

जम्काभेट!

२०७७ माघ ७, ११:३६ खबर संवाददाता

ए मृत्यु! 
तिमी सच्चा मित्र हौ, 
तिमीलाई वचन दिन्छु।
तिम्रो मेरो जम्काभेट,
भव्य हुनेछ, त्यतिञ्जेल धैर्य राख।

जसरी दिन र रात बीच,
छत्तीसको आँकडा छ। 
जसरी अँध्यारो र उज्यालो बीच,
छत्तीसको आँकडा छ।

तिमी र म बीचको शीतयुद्धले, 
प्रिय जिन्दगी बनेको छ।
जिन्दगीले लडाएको बेला,
उठ्न सिकाएको छ।

कहिले हराएको छ, 
फेरि जिताएको छ,
हर हारमा हर जीतमा
केही सिकाएको छ, 
एउटा सच्चा मित्रले झै
मित्रता निभाएको छ, 

ए मृत्यु,
तिम्रो सच्चा मित्रले जिन्दगीभित्र 
एक सच्चा मित्र पाएको छ।
म जिन्दगी रमाइरहेको छु, 
म जिन्दगी उत्सव जस्तै मनाइरहेको छु, 
र तिमी र म बीचको 
शीतयुद्ध पनि चलिरहेकै छ, 
जसरी उज्यालोले 
अँध्यारोलाई पछ्याइरहेको छ, 

जसरी अँध्यारोले 
उज्यालोलाई पछ्याइरहेको छ, 
दिनले रातलाई अनि रातले 
दिनलाई पछ्याइरहेको छ, 
तिमी र म बीचको दौडधूप पनि 
लामै चलिरहेको छ।

ढिलै सही, तिम्रो मेरो जम्काभेट 
एक दिन अवश्य हुनेछ, 
सूर्योदय साक्षी छन्, सूर्यास्त साक्षी छन् 
उज्यालो र अँध्यारोको जम्काभेट 
कति मनमोहक हुन्छन्, कति सुन्दर हुन्छन्,
 
ढिलै सही, तिम्रो मेरो जम्काभेट 
एक दिन अवश्य हुनेछ, 
तिमीलाई वचन दिन्छु 
तिम्रो मेरो जम्काभेट 
जिन्दगी जस्तै भव्य हुनेछ, 
त्यतिञ्जेल धैर्य राख।
 

कमेन्ट लोड गर्नुस