सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा क्वारेन्टिन बनाइएका विद्यालयको बेहाल, मर्मत नहुँदा पठनपाठनमा समस्या

२०७७ माघ ५, ०२:३७ खबर संवाददाता

एकेन्द्र खत्री, अछाम: नेपालमा कोरोना भाइरसको संक्रमणपछि क्वारेन्टिन बनाइएका अछामका विद्यालयहरु कुरुप बनेका छन्। 

लामो समयपछि विद्यालय खुलेतापनि लकडाउनका समयमा क्वारेन्टिन र आइसोलेशन केन्द्र बनाइएका विद्यालयहरुको मर्मत भने भएको छैन।

क्वारेन्टिन बनाइएका विद्यालयको सरसफाइ तथा मर्मत नहुँदा पठनपाठनमा समस्या भएको गुनासो बढेको छ। 

अछाममा ३ सय ९० आधारभुत र ९५ वटा माध्यामिक विद्यालय गरी जम्मा ४ सय ८५ विद्यालय रहेका छन्। ती मध्ये २ सय २१ विद्यालयहरुलाई क्वारेन्टिन बनाइएका थिए। क्वारेन्टिनपछि ९ वटा विद्यालयलाई विभिन्न स्थानीय तहले आइशोलेसन केन्द्रको रुपमा पनि स्थापना गरेका थिए। 

ढकारी गाउँपालिकाको गुरुकुल माध्यामिक विद्यालयलाई पनि लकडाउनको समयमा क्वारेन्टिन बनाइएको थियो। विद्यालयमा झण्डै ४ महिनासम्म २ सय ६५ मानिसहरु क्वारेन्टिनमा बसेका थिए।

तर अहिले विद्यालय सुचारु हुँदा त्यहाँको डेस्क, बेन्चदेखि झ्यालढोका सम्ममा क्षति पुगेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी भुपेन्द्र बुढाले बताए। क्वारेन्टिन र आइशोलेसन बनाइएका विद्यालयहरुको सरसफाइ र मर्मतमा नभएको उनको गुनासो छ। 

लकडाउनअघि अछामका ३ सय ९० आधाभुत तहका विद्यालयमा कार्पेटको व्यवस्था थियो। तर अहिले ती कार्पेटहरु हराइसकेको विद्यालय प्रशासनले जनाएका छन्। 

विद्यालयका अन्य सामानसँगै विद्युतिय सामग्री पनि नष्ट हुँदा पठनपाठन प्रभावकारी नभएको गुरुकुल माध्यामिक विद्यालयका प्रधानाध्यापक भिमबहादुर शाहीले बताए। गाउँपालिकासँग मर्मत सम्भार गर्न आग्रह गर्दापनि कुनै चासो नदिइएको उनले गुनासो गरे। 

उता जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले भने अहिले सबै स्थानीय तहका विद्यालयहरुमा अनुगमन भइरहेको र क्षति भए अनुसार मर्मत गर्ने तयारी रहेको बताए। 

कमेन्ट लोड गर्नुस