दशरथचन्द विश्वविद्यालयको सर्टलिस्टममा एकपछि अर्को ‘त्रुटि’
धनगढीः कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले करार सेवामा कर्मचारी भर्नाका लागि सार्वजनिक गरेको संक्षिप्त सूची (सर्टलिस्ट)मा त्रुटिमाथि त्रुटि फेला परेको छ। विश्वविद्यालयले सूची सार्वजनिक गरेपछि पटकपटक त्रुटि सच्याउने सूचना जारी गर्नुपरेको छ। यसले कर्मचारी छनोट प्रक्रियामाथि नै प्रश्न उठाएको छ।
विश्वविद्यालयले गत असोज १६ गते स्वास्थ्य सेवाका विभिन्न पदमा करारमा कर्मचारी नियुक्त गर्न संक्षिप्त सूची सार्वजनिक गरेको थियो। १५१ कर्मचारी माग गरिएकामा एक हजार ६६९ जनाको आवेदन परेको थियो। तीमध्ये ५४४ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको थियो।
तर, सूची सार्वजनिक भएदेखि नै छनोट प्रक्रियामा त्रुटि रहेको भन्दै विवाद हुँदै आएको छ। विश्वविद्यालयले आफैँ सूची सच्याउँदै सूचना जारी गर्न थालेपछि छनोट प्रक्रियाको विश्वसनीयतामाथि थप प्रश्न उठेको हो।
विश्वविद्यालयले बायोमेडिकल इन्जिनियरको एक पदका लागि आवेदन दिएका नौ जनामध्ये छ जनालाई संक्षिप्त सूचीमा समावेश गरेको थियो। तर, अन्तर्वार्ताका क्रममा सक्कल कागजात परीक्षण गर्दा सूचीमा परेका एक उम्मेदवारको आवश्यक योग्यता नपुगेको भेटिएको भन्दै विश्वविद्यालयले उनको दरखास्त रद्द गरेको छ।
विश्वविद्यालयले असोज २२ गते जारी गरेको सूचनामा सम्बन्धित पदका लागि माग गरिएको योग्यता नपुगेको देखिएकाले दर्ता नम्बर ६ का उम्मेदवारको दरखास्त छनोट समितिको निर्णयअनुसार रद्द गरिएको उल्लेख छ। उक्त सूचनाले योग्यता नपुगेको उम्मेदवार कसरी संक्षिप्त सूचीमा अटायो ? भन्ने प्रश्न उब्जिएको छ।
सोही दिन विश्वविद्यालयले अर्को सूचना जारी गर्दै स्टाफ नर्सतर्फ तीन जना र ल्याब टेक्निसियनतर्फ एक जनाको नामसम्बन्धी संक्षिप्त सूचीमा भएको त्रुटि सच्याएको जनाएको थियो। सूची सार्वजनिक गरेपछि विभिन्न पदका उम्मेदवारको नाम र विवरण सच्याउनुपर्ने अवस्था आएपछि छनोट प्रक्रियामा पर्याप्त जाँचबुझ भएको थियो वा थिएन भन्ने प्रश्न उठेको छ।
विश्वविद्यालयले पहुँचका आधारमा संक्षिप्त सूची छनोट गरेको आरोप समेत लाग्दै आएको छ। तर, विश्वविद्यालयले भने अनुभव, योग्यताबापत प्राप्त अंक, उपल्लो योग्यता र तालिम गरी चारवटा आधारमा संक्षिप्त सूची तयार पारिएको दाबी गर्दै आएको छ। विश्वविद्यालयले कर्मचारी छनोटका लागि असोज २० गतेदेखि अन्तर्वार्ता प्रक्रिया अघि बढाएको छ।