धनगढी: कैलालीको मोहन्याल गाउँपालिकामा चितुवा देखिएको छ। गाउँपालिकाको बाँसघाडी सामुदायिक वनले गरेको ‘क्यामेरा ट्र्यापिङ’मा उक्त चितुवा देखिएको हो।
वनले ४ वटा क्यामेरा ट्र्यापिङका लागि राखेकोमा पुष २४ गते विहानको समयमा उक्त चितुवा देखिएको बासघाडी सामुदायिक वनका अध्यक्ष मोहन विश्वकर्माले बताए। लोपोन्मुख पाटेबाघको आहारा प्रजाति, बासस्थान र अवस्था पत्ता लगाउन वनभित्र आधुनिक ‘क्यामेरा ट्रापिङ’ विधिको प्रयोग गरी बाघ अनुगमन थालिएको उनले बताए।
उक्त प्रविधिमा कुनै पनि बाघ दोहोरिने सम्भावना नहुने र क्यामेराको अघिबाट बाघ हिँड्दा आफैँ फोटो खिच्ने भएकाले छुट्न पनि नछुट्ने वन अधिकारीहरु बताउँछन्।
जङ्गलमा बाघ हिँड्ने क्षेत्रमा निश्चित ठाउँमा क्यामेरा राखेर अनुगमन गर्ने प्रविधि ‘क्यामेरा ट्रापिङ’ हो। सो क्रममा बाघको पाइलाको समेत अनुगमन गरेर आगन्तुक हो वा रैथाने हो भनेर समेत पहिचान गर्ने संरक्षणकर्मीहरु बताउँछन्।
कैलालीमा चितुवाहरु फेला परिरहने भएकाले यो घटना सामान्य भएको वनकर्मीहरुले बताएका छन्।