सुदूर नेपाललाई विश्वसँग जोड्दै

घाँसमा रमाउदै टीकापुरका युवराज

२०७७ माघ ४, ०८:४२ विन्दु चन्द

धनगढीः कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का  युवराज शर्माले घाँसको बीउ उत्पादन गर्ने व्यवसाय गर्दै आएको ७ वर्ष बितेको छ। करिब २५ बिघामा घाँस रोपेर बीउ उत्पादन गर्दै आएका शर्मालाई सुरुवाती दिनमा असफल हुने हो कि, भन्ने चिन्ता थियो। तर उनको निरन्तरको परिश्रमले रंग ल्याएको छ। हाल उनी सफल घाँसको बीउ उत्पादन गर्ने किसान बन्न सफल भएका हुन्।

उनी भन्छन्, “सुरुमा त सबैले के गर्लान र यिनीहररुले भन्थे, तर जब हामीले पहिलो चरणमै घांस उत्पादन गर्न सफल भयौ। त्यसपछि सबैले वाह! राम्रो गरे भने ।” 

सुरुवाती २०७० सालमा ६ जना मिलेर घाँस खेती सुरु गरेका थिए। ६ बिघाबाट खेती विस्तार गरिएको थियो। विस्तारै नयाँ अनुभव र माग अनुसार उनले घाँसको बीउ उत्पादन गर्दै ४ बिघा आफ्नो र २१ बिघा भाडामा लिएर खेती गर्न थाले। 

६ जनाले एक÷एक लाख रुपैयाँ संकलन गरि संयुक्त व्यवसाय थाल्दा घाटा लागेपछि अन्य ५ जना सहकर्मीहरुले साथ छोडेर गएको उनी बताउँछन्।

उनले भने, “सुरुमा ६ जना मिलेर घांसको उत्पादन गर्ने भन्यौ। तर त्यति अनुभव नहुँदा साढे ५ लाखको नोक्सानी भयो। अन्य साथीहरुले हुँदैन भनेर छोडेर गएपछि त्यो सबै मैले सम्हाले । पैसा भन्दा इज्जतको डर थियो, के गर्लान र भन्नेहरुलाई देखाउनु थियो। जसरी पनि गर्छु भन्ने आँट तथा मनसायले यो व्यवसाय सफल पारे । अहिले सबैले प्रशंसा पनि गर्छन्।” 

६ लाखदेखी सुरु गरेको घाँसको व्यवसायमा हाल २० लाख बढी लगानी थपेका छन्। भने घाँसको बीउ सुदूरपश्चिसहित अन्य जिल्लामा पनि बिक्री वितरण गर्दै आएका छन्। घाँस भन्दा बीउको माग बढी भएकाले हाल २५ विघामा बीउ उत्पादन गरेको शर्मा बताउँछन्।

हाल उनले सुदूरपश्चिम, सुर्खेत, चितवन, पुर्वको जनकपुरलगायत जिल्लाहरुमा पनि बीउ वितरण गर्दै आएका छन्।

शर्माले विशेषगरि बर्खायाममा मकैचरी, हिउँदमा जै र बर्सिन जातको घाँसको बीउ उत्पादन गर्छन्। बर्खायाममा २ सय ५० क्वीन्टल र हिउँदेयाममा ४ सय ५० क्वीन्टल उत्पादन हुने बताए।

घाँसको बीउ बिक्रीबाट उनले मासिक २ लाख बढी आम्दानी गर्दै आएका छन्। भने ४ जनालाई रोजगारी समेत दिएका छन्। 

उनले अगाडि भने, “अहिले प्रत्यक्ष रुपमा म संग ४ जना कामदार छन्। मौसमअनुसार ७०/७२ बढी जनाले रोजगार पाउँछन् ।” 

सरकारी अनुदान पनि पाउँदै आएका शर्माले आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरणको पात्र बन्न पाउँदा खुसी लाग्ने गरेको बताउँछन्।

उनले भने, “गरे के सम्भव छैन् र ? व्यावसायिक कृषिमा त धेरै सम्भावना छ। मैले राम्रो सम्भावना र कृषिमै भविष्य देखेरै यो कृषि व्यवसाय अँगोलेको हुँ ।” 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस